बाबुराम शर्मा
दोलखा, माघ १२ गते । पुर्खौंदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पु स्थितको ढुङगा (स्लेट) खानी प्रवर्धनमा सरकारले चासो नदिँदा ओझेलमा परेको छ । खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित भएका छन् ।
चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्तै नगरेपछि खानी ओझेलमा पर्न थालेको स्थानीय को भनाइ छ ।
खानीमा १५ वर्षको उमेरदेखि अनवरत काम गर्दै आउनु भएका ६६ वर्षीय कालुमान थामीले दुखेसो पोख्दै भन्नुभयो, “हाम्रो रोजगारी व्यवस्थित गरिदिने सँधै चुनावी नारा बन्छ, जितेपछि नेताको मुखसम्म देख्न पाइँदैन । अब २०८४ मा अनुहार देख्न पाइने होला ।”
भीरबाट स्लेट निकालेर बेचेर जीवन निर्वाह गर्ने थामी समुदायको मुलुकमा व्यवस्था परिवर्तन भए पनि जीवनमा परिवर्तन नआएको गुनासो गरेका छन् । नेताकै बेवास्ताका कारण हामी ठगिएका छौं, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य अभावबाट गरिबीले थिचिएका थामी समुदायमा हातमुख जोड्न धौ–धौ छ । उहाँले भन्नुभयो, “प्रत्येक चुनावमा खानीसम्म सडक पुगाउने, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था गरिदिने भन्दै भोट मागेका छन् । जितेपछि गाउँमा मुखसम्म देखिँदैन । खानी व्यवस्थित गरिदिनुको सट्टा बन्द गर्ने खबर आउने गरेको छ । यो बाहेक जीवन जिउने अर्को विकल्प छैन ।”
गत स्थानीय चुनावमा पनि रोजगारी दिने आश्वासन पाएको भए पनि काम नभएको उहाँहरूको गुनासो छ । मकर थामीले भन्नुभयो, “अहिलेसम्म माखो मारिएको छैन । अब चुनाव आउन थालेको छ । अब पनि आश्वासनभन्दा अरू के पाइएला र खै ?”
बुद्धिमाया थामीले भन्नुभयो, “अब के गरेर जीवन चलाउने भन्ने चिन्ताले सताउन थोलेको छ । नेताले व्यवस्था गरिदिए त रोजगारी मिल्थ्यो होला । चुनावपछि त नेताको मुख देख्नै गाह्रो हुन्छ ।”
खानीका स्लेट राम्रो भएकाले नमुना परीक्षणका लागि अमेरिका र अस्ट्रेलिया समेत लगिएको थियो । खानी तथा भूगर्भ विभागले गरेको एक अध्ययनले यो खानीबाट उपलब्ध हुन सक्ने स्लेटको कुल क्षेत्रफल दुई करोड ६९ लाख आठ हजार ७७५ वर्गफिट हुनेछ । अमेरिकी टोलीले गरेको अध्ययन प्रतिवेदनअनुसार खानीको आयु १३३ वर्ष लामो रहेको उल्लेख छ ।