• १४ माघ २०८१, सोमबार

बगरफाँट-भकिम्ली सडक स्तरोन्नतिले स्थानीय खुसी

blog

बेनी नगरपालिका २ स्थित बगरफाँटमा सडक स्तरोन्नति हुँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ १२ गते । बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली गाउँ जोड्ने ग्रामिण सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् । बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनामा उत्पादन भएका कृषि उपजलाई बेनीसम्म ल्याउन प्रयोग हुने यो सडक १७ वर्ष अघि ट्रयाक खुलेको थियो । 

साघुरो कच्ची र जिर्ण सडकलाई स्तरोन्नति गर्ने योजना अघि बढेपछि यस क्षेत्रका किसानहरु खुसी भएका हुन् । बेनीदेखि बगरफाँट सम्मको सडक यसअघि नै कालोपत्रे गरिएको छ । बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत स्तरोन्नति योजना अघि बढाएको हो । 

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । 

गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाख रुपियाँमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे हिमालयन जेभीसँग १८ महिनामा निर्माण सम्पन्न गर्नका लागि अघिल्लो वर्षको जेठमा  ठेक्का सम्झौता भएको थियो । 

यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा तीनसय ९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका सव–इन्जिनियर रविन चोखालले बताउनुभयो । 

चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि एक करोड ६० लाख रुपियाँ मात्रै बजेट प्राप्त भएकाले निर्माण व्यवसायीलाई काम गरे अनुसारको रकम भुक्तानी गर्न समस्या भएको उहाँले बताउनुभयो । 

निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएको इन्जिनियर चोखालले बताउनुभयो । योजनामा अहिलेसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको छ । 

कच्चि र जिर्ण भएको सडक स्तरोन्नति योजना अघि बढेपछि भकिम्लीवासीहरु खुसी भएको बेनी नगरपालिका ३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । 

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले  हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्ग अन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।