काठमाडौं, माघ १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ ।
शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको औंल्याउनुभयो । नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुने उहाँको भनाइ छ ।
पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकुल वातावरण छ भन्नेकुरा सरकारले स्थापित गरेर छोड्ने बताउनुभयो । पर्यटकहरू देशको समृद्धिको वाहक भएको जानकारी दिनुभयो ।
‘‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ । ठाउँ ठाउँमा क्रसहरू खुल्दैछन् ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘नदीको प्राकृतिक बहावमा अतिक्रमण भयो भने र्याफ्टिङको सम्भावना रहँदैन । ऊर्जा मन्त्रालयले ठुला-ठुला ड्याम राखेर ऊर्जाको विकास गर्दछ । विकास जरुरी छ । तर नदीको प्राकृतिक बहाव हामीले जोगाउनुपर्ने चुनौती पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौति पनि छ । त्यसको सुरक्षा भएन भने पर्यटकहरू त्यो गन्तव्यमा जान मान्दैनन् ।’’
पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको सङ्ख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी सुरु गरेको बताउनुभयो । प्रहरी पयर्टकको सङ्ख्या बढाउने र २९ ठाउँमा मात्रै सिमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।