रमेश विश्वकर्मा
गुल्मी, माघ १२ गते । गुल्मीको मदाने गाउँपालिकाले सबै वडामा माटो परीक्षण गर्ने भएको छ । गाउँपालिकाद्वारा यहाँको हरेक ठाउँको माटोको अवस्था र उर्वराशक्ति बारे जानकारी लिने उद्देश्यसहित माटोको नमूना परीक्षण गर्न लागिएको हो ।
चालू आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले यहाँका सात वटै वडामा रहेका कृषकको खेतबारीको माटो परीक्षण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो । कृषकको बारीमा माटो सुहाउँदो बालीको खेती गर्नका लागि निःशुल्क रुपमा माटोको नमूना परीक्षण गर्न लागिएको हो ।
आफ्नो खेतबारीको माटो परीक्षण गर्न चाहनु हुने गाँउपालिका भित्रका कृषक, कृषक समूह तथा कृषि सहकारीहरुले पन्ध्र दिनभित्र कार्यालय समयमा सम्बन्धित वडा कार्यालयमा माटोको नमूना ल्याइ दर्ता गराउनुपर्ने बताइएको छ । वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।
माटोको गुणस्तर सुधारका लागि परीक्षणका क्रममा माटोको अम्लिय तथा क्षारिय गुण, माटोमा नाईट्रोजनको अवस्था, पोटासियमको अवस्था र माटोको प्राङ्गारिक पदार्थको मात्रा परीक्षण गरिनेछ । माटोको नमूना प्लाष्टिक वा कपडाको झोलमा हावा नछिर्ने गरी पोको पारि ल्याउनुपर्नेछ ।
कृषिजन्य उत्पादनको उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउन माटो परीक्षण गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताउनुभयो । उहाँले आफ्नो खेतबारीको माटो जाँच गराई लाभ लिन मदानेका सम्पूर्ण किसानलाई आग्रह गर्नुभयो ।