चल्ला हावा शिशिर ऋतुको जोडले पूर्वबाट
खोली देला तब अनयको घच्घच्याई कपाट
लेलान् फेरी अयन रविले उत्तरी कोणबाट
बोल्लान् क्वैली कुहुकुहु गरी वृक्षका बीचबाट
जालो फाट्ला गगनभरको तारका दीप्त होलान्
धर्ती हाम्री सुघरसुकिली भै ऋतु स्नान गर्लिन्
फिर्ला फेरी गति पवनको छर्किंदै त्यो उमङ्ग
केको सक्ला गतिरहित भै बस्न प्यारो अनङ्ग
फुल्लान् रङ्गी कुसुम वनमा वागमा ली सुगन्ध
बग्ला हावा मधुर गतिमा गन्धले मन्द मन्द
डाक्लान् मौरी भमर पुतली गन्धमा रङ्ग भर्दै
सिचलान् सारा चमन वनमा पान पीयूष गर्दै
चढ्लान् ऊँभो शशधर जसै अभ्रमा सुस्त सुस्त
नाच्लान् फेरी कुमुद सरमा मुस्कुराई मुसुक्क
चूँ चूँ गर्दै नजिक तटमा घुम्न थाल्दा चकोर
हाँस्लान् तारा सगर भरका हर्षले भै विभोर
छाया पर्दा विविध रङको भूमिमा त्यो बखत्मा
निस्केलान् है रमण रमणी शान्तिको चाहनामा
बास्ना भर्दै जब मृगमदा फूल भै रङ्ग भर्ला
नौलो सृष्टि गर अब तिमी दीप्त कन्दर्प भन्ला