• १४ माघ २०८१, सोमबार

कठपुतलीको बिहेमा जन्ती बनेर गुटुतिर

blog

सुर्खेत वीरेन्द्रनगरदेखि करिब ६० किलोमिटरको यात्रा पूरा गरेपछि गुटु पुग्न सकिन्छ । सडक निर्माण चरणमै अलपत्र भएकाले कष्टसाध्य यात्रा अनिवार्य सर्त हो । विद्यापुर हुँदै गुटु पुग्दै गर्दा माघीको अघिल्लो दिन अर्थात् पुस मसान्त रहेछ । जनजाति समुदायको बाहुल्य भएको क्षेत्र भएकाले माघीको अघिल्लो दिन आफ्नै पोसाकमा सजिएका युवा रमाइलो गरिरहेका थिए । लोक, झ्याउरे, मारुनी, सोरठी अघाउँजी हेर्ने मौका त्यहाँ मिल्यो । जसोतसो दिन कट्यो ।  

गाउँका घर घरमा सल्लाह छ– टाटा ल्याउने, मुढा बाल्ने, भुव जगाउने । मध्याह्नपछि मात्र खुल्ने भित्री मधेशको चकोर मैदानी खेत खोरियान निकै सुन्दर र सौम्य छ । गाउँ गाउँ डुल्दै फोटो/भिडियो खिच्दै हिँड्ने सोख मेरा लागि वास्तवमै आकर्षित ठाउँ । एक दिनका लागि पुगेको मैले बसाइ तीन दिन लम्ब्याएँ । अनि नगेन्द्र दाइको अनुरोधमा कठपुतली बिहेको साक्षी बन्न पुगेँ ।  

माघको कठ्याङ्ग्रिँदो चिसो, त्यसैमाथि अपराह्नसम्म डम्म छोपिने शीतको बादल । चुरे पहाडको काखमा बसेको चौकुनोको चकोर र उब्जाउ फाँट गुटु । सुर्खेतको सुदूरपश्चिम प्रदेशको अछाम, डोटी र कैलालीसँग सीमा साट्ने चौकुने गाउँपालिकाको केन्द्र । शीतको थोपा राम्रोसँग झर्न नपाउँदै सन्ध्याकालीन चटारोमा गुपचुप हुनु गुटुको दैनिकी हो । तमाम अवस्थाका बाबजुद आँखामा नअटाउने गरी सुन्दर छ गुटु । त्यसैमाथि अनौठो लाग्ने संस्कृतिको बान्कीले मग्न छ । गुटु क्षेत्रमा सदियौँदेखि नै दुई गाउँका कन्याबिच औपचारिक तवरले बिहे हुँदै आएको छ । सुन्दा अनौठो लाग्छ । त्यही अनौठो अनुभवका लागि म यता आइपुगेको छु । माघीको अघिल्लो दिनको मध्यरातबाटै चोकचौराहमा मुढा जलाउने, मुढा ताप्ने मात्र हैन, शास्त्रार्थसमेत गर्ने, खेल खेलाउने, धार्मिक कथा सुनाउने, टाटा अर्थात् मालुको फललाई पोल्ने र बियाँ, तरुललगायत कन्दमूल खाने प्रचलन रहेछ । माघीको रौनकमा चार चाँद लगाउने अर्को उत्सव हो कठपुतलीको विवाह । 

पुस मसान्तको रात धेरै महिला गाउँको वारिपारि रहेका फडिके, बन्डाली, खोटेसल्लालगायत स्थानीय सामुदायिक वनबाट पैदावार ल्याउने गर्दछन् र पुरुष मुढामा धुनी जगाउँछन् । प्रायः धेरै गाउँठाउँमा टाटा पोल्ने, मुढो जलाउने, आगो ताप्ने जस्ता परम्परा छोड्दै गएको भए पनि विद्यापुर क्षेत्रमा झन् भव्य रूपमा नै मनाइँदै आएको पाइन्छ । माघीको पूर्वसन्ध्यामा गाउँका महिला टाटा, तिलको बोटको जोहो गर्दा रहेछन् । गाउँका महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक सबै मुढाकै रापमा चिसो सेक्दै, परम्परालाई थेग्दै गरेको दृश्य रोमाञ्चक देखिन्थ्यो । अनि माघीको दिन ढल्किँदै गर्दा सुरु हुन्छ कठपुतलीको विवाह रौनक । 

कठपुतली विवाह उत्सव

चौकुने गाउँपालिका–७, भैरवस्थान डावगाउँलाई मध्यभागबाट चिर्दै पश्चिमतिर सोझिएको छ मदन भण्डारी राजमार्ग । राजमार्गछेउमा दुलहाको सानो घर छ । बाँसको टाँगोमा स्याउलाले छोपेको सानो प्रतीकात्मक घर । यो वर्ष दुलहा बन्ने पालो डावगाउँको छ । दुलही चाहिँ भाब्रगाउँकी । यता वर्ष ११ की एन्जल थापा दुलहा, उता ऋतु बिसी दुलही । 

दुलहाकी दिदी अनि आमासहित सयौँ स्थानीय जन्ती जाने तयारीमा छन् । बाहिर सडक नै छोपिने गरी जन्ती भरिएका छन् । रनवन गुन्जिने गरी पन्चैबाजा घन्किएको छ । यस्तै अनुष्ठान डाबमा मात्र हैन, आसपासका गाउँमा पनि रचिएको छ । 

जन्तीलाई टीकाटालो गरी बिदाइ गरेपछि रत्यौली खेल्न थालेका छन् महिला । बाजागाजासहित सिङ्गो गाउँले जन्ती दुलही लिन भाब्रगाउँतिर सोझिएका छन् । दुलहाको घरमा खेलिने ठट्यौली खेल हो रत्यौली । पुरुषलाई हेर्न बन्देज छ । महिला मात्र खेल्छन् रत्यौली । सबै सामाजिक बन्धनलाई फुकाएर निर्धक्कसँग जिस्कने गर्दछन् रत्यौलीमा महिला, जसरी भोसीखेलमा पुरुष त्यसै गरी सामाजिक बन्धनबाट मुक्त हुन खोज्छन् । पन्चैबाजाको तालमा झुमेका छन् जन्ती । डोली, तामदाम, दहीठेकोलगायत सामग्री बोक्नेको रमाइलो छुट्टै छ । बरु हिजोआज साँच्चैको बिहेमा यत्तिको विधिविधान, उत्साह र खुसी देखिँदैन । तथापि कठपुतली बिहेमा सिङ्गो गाउँले उत्साह मनाउँदै गरेको दृश्यले संस्कृति संरक्षणमा उठेको जागरुकता प्रस्ट पार्छ ।

सेतो पछ्यौरीको गम्छा, कालो चस्मा अनि छाता ओडेका दुलहाको प्रतीक्षा गरिरहेको दुलही गाउँ झन् दोब्बर उत्साही देखिन्छ । शीतले निथु्रक्क भिजेको तोरी, मुसुरो, सिम्चना र गहुँको हरियाली खेतभरि माइतीपक्ष अर्थात् भाब्रगाउँका गाउँले दुलहाको स्वागतमा बसेको दृश्य गज्जबको थियो । दिन ढल्कनै लागेका बेला पुगेका जन्तीलाई बाजाको इसाराले खबर गर्नुपर्ने रहेछ । दुवै पक्षको पन्चैबाजाबाट कुरा भएपछि अब जन्ती र माइती पक्षको भेट अद्भुत देखियो । अलि सेपिलो परेको खेतका फाँटभरि कठपुतली बिहेका साक्षीको हुलले पूरै माहोल तताउने नै भयो । आखिर कठपुतली नै सही सदियौँदेखि मान्दै आएको परम्पराको निरन्तरताले दिएको न्यानो आतिथ्य, सद्भाव, मायाको प्रतीक थियो कठपुतली बिहे । 


काँधमा दुलहा 

काँध चढेर पुगेका दुलहाको स्वागत विधिपूर्वक गरियो । साँझ पर्नै लाग्दा पनि दुलहा कालो चस्मामै थिए । “आँखा त ठिक छ, दुलहाको ?” माइती पक्षले घोचपेच गर्दै कालो चस्मा हटाउन अनुरोध गरे । “के काँधमा चढेको, हिँड्न सकिँदैन ?” अर्का गाउँलेले जिस्क्याएपछि दुलहालाई काँधबाट भुइँमा झारियो । दुई गाउँका पन्चैबाजाको पूरै ताल एकै ठाउँमा भेट भएपछि बजाउने, नाच्ने, हेर्नेको धुइरो छ । 

दुलहा पक्षका गाउँले पनि के कम्ती थिए र ? थालिहाले जिस्क्याउन, “घुम्टोमा पूरै छोपिएकी दुलही नै हौ कि डोको हो ?” दुलहा पक्षले दुलही पक्षलाई कटाक्ष गरेपछि दुलहीको घुम्टो उघारियो । बिहे परम्परा सम्पन्न गरी दुलही लिएर नाच्दै गाउँदै जन्ती र दुलहा घर फर्किए । यो त एउटा परम्परा न थियो, दुलही फर्काउन माइती पक्ष पनि सँगसँगै दुलहाका घर पुगे । विवाह सम्पन्न भयो अनि दुलही लिएर गाउँले आफ्नै घर फर्किए । साना साना बालबालिका बाल्यकालमा खेल्ने ख्याल ख्यालको बिहे जस्तै लाग्यो मलाई । आखिर हाम्रा संस्कृति, परम्परा पनि त भूगोल र परिवेश अनुसार फरक फरक न छन् ।

साल्मी र टिमालेको किंवदन्ती

सुन्दा अनौठो लाग्ने कठपुतली बिहे वा पुतली बिहे आफैँमा रोचक छ । इतिहासको गहिराइबाट तत्व कुराको खासै उत्खनन भएको पाइँदैन तर कथन छ, परापूर्वकालमा विद्यापुरका डाव र भाब्रगाउँमा साल्मी (थापा) र टिमाल (बयक) थरीको बसोबास थियो । आसपास घना जङ्गलका बिचमा छिटपुट बस्दै आएका घर बेँसीका अस्थायी घर जस्ता थिए । कुलको, बसेको ठाउँको, प्रकृतिको, देउको आराधना गर्ने पूर्वीय समाजमा नियमित नित्यकर्म थियो । यस्तै देउको भुव खेल्ने क्रममा माट्य देउका दुई सन्तान मुढामा सल्किएको ठुलै आगोको लप्कामा परी ज्यान गएपछि इष्ट, कुटुम्बबिच सम्बन्ध चिसिन गयो । 

विभिन्न अशान्ति र अनिष्ट बेहोर्नु परेपछि दुवै इष्ट बसेर समाधानको उपायस्वरूप दुई देउलाई साक्षी राखी बिहेको अनुष्ठान रच्ने परम्परा सुरु गरिएको हो भन्ने विश्वास छ । सुरुवातको तिथिमिति प्रस्ट नभए पनि आजपर्यन्त कठपुतली बिहेलाई निरन्तरता दिइँदै आएको छ । पहिले थोरै घरमा सीमित यो परम्परामा अहिले गाउँकै उत्सव बनेको छ । 

कठपुतली बिहेमा सहभागी चेली पद्मादेवी थापा भन्नुहुन्छ, “हामीलाई फलिफाप भएको छ । इष्ट, कुटुम्बबिच मनमुटाव भएको छैन । थोरै परिवारबाट अहिले गाउँकै रूप लिएको छ । सुख शान्ति मिलेको छ ।” उहाँका अनुसार कठपुतली बिहेबारी नगरे अनिष्ठ निम्तन्छ भन्ने विश्वास छ । त्यसैले भव्य रूपमा पूरै विधिविधान गरी बिहे अनुष्ठान गरिन्छ । विवाहमा सहमागी ८० वर्षीय अमरबहादुर थापा भन्नुहुन्छ, “हामी खुसी छौँ । पितापुर्खादेखि चल्दै आएको परम्परा बिग्रेको छ भने बनाऊँ, नमिलेको छ भने मिलाऊँ तर नमासौँ भन्छु ।”

स्थानीय दुर्गाप्रसाद जोशी दुवै थरीले इष्ट देवताका रूपमा पुज्दै आएका श्रीवण्डारी र कालसैनीबिचको कुटुम्ब सम्बन्ध कायम राख्ने विधि भएको बताउनुहुन्छ । कालान्तरमा धार्मिक मात्र नभएर सांस्कृतिक वैधताको प्रतीकका रूपमा यस किसिमको संस्कृतिलाई आपसी सद्भाव, सहिष्णुतासँगै प्रगाढ सम्बन्ध जोगाइराख्ने सेतुका रूपमा कठपुतली बिहे हुने गरेको धारणा जोशीको छ ।  अघिल्लो वर्ष दुलही बनेकी प्रियन्का बिसी भन्नुहुन्छ, “मलाई त निकै रमाइलो लागेको थियो । यस्तो संस्कृतिले समाजलाई जोड्ने काम गर्छ जस्तो लाग्छ ।”

 

Author
विशाल सुनार

उहाँ (दुल्लु) दैलेखका लागि गोरखापत्रको समाचादाताको रुपमा काम गरिरहनु भएको छ । 

लेखक बाट थप