काठमाडौँ उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको गोदावरी नगरपालिका प्राकृतिक, सांस्कृतिक सम्पदाका दृष्टिले महत्वपूर्ण मानिन्छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका १४ वटा वडाका ठैब, बाडेगाउँ, टौखेल, बडिखेल, गोदावरी, झरुवारासी, चापागाउँ, ठेचो, लेले, विष्टछाप, देवीचौर, छम्पीलगायत बस्तीहरू धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाका दृष्टिले महìवपूर्ण छन् । यी बस्तीका मठमन्दिर, देवल, चैत्य, विहार, पाटी, सत्तल, ढुङ्गेधारा, जलद्रोणी तथा तिनको स्थापनाकाल दर्शाउने शिलापत्र, ताम्रपत्र जस्ता अभिलेखहरू प्रशस्त रहेका छन् । पितापुर्खाले निर्माण तथा स्थापना गरेका मन्दिर, मूर्ति, चैत्य, विहार, पाटी, सत्तल, देवल जस्ता मूर्त सम्पदासँग जोडिएर आउने जात्रा, चाडपर्वले यस नगरलाई सांस्कृतिक रूपमा अझ धनी बनाएको छ । यस्ता मूर्त तथा अमूर्त सम्पदाले मानव सभ्यतालाई चिनाउँछ ।
लिच्छविकालीन, मध्यकालीन तथा शाहकालीन सभ्यता बोकेका सम्पदाहरू गोदावरी नगरभित्र प्रशस्त छन् । गोदावरीको नौधारा, फुल्चोकी मन्दिर, बाडेगाउँको श्वेतवाराही मन्दिर तथा विभिन्न चैत्य, चापागाउँको वज्रवाराही, नारायण मन्दिर, सत्यसिं विहार, कल्याण महाविहार, हेमवर्ण महाविहार, ठेचोको ब्रह्मायणी, नवदुर्गा, बालकुमारी मन्दिर, लेलेको सरस्वती कुण्ड, रामेश्वरधाम, देवीचौरको कटुवाल दह क्षेत्र धार्मिक, सांस्कृतिक, पुरातात्त्विक दृष्टिले अति नै महìवपूर्ण छन् । यस्ता क्षेत्रमा पाटी, सत्तल, मन्दिर, ढुङ्गेधारा, जलद्रोणी, चैत्य आदि ऐतिहासिक सम्पदाहरू रहेका छन् । यस्ता मूर्त सम्पदासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर आउने विभिन्न जात्रा, चाडपर्वले सांस्कृतिक रूपमा नगरलाई धनी बनाएको छ । यस्ता मूर्त तथा अमूर्त सम्पदाहरू गोदावरी नगरको अमूल्य सम्पत्ति हुन् । तथापि, संरक्षणको अभावमा कतिपय अभिलेख बिगँरदै, नासिँदै र हराउँदै गएको पाइन्छ । यस्ता अभिलेखहरू समयको अन्तरालमा टुटफुट हुने, नष्ट हुने, अक्षरहरू खिइएर जाने गरेको पाइन्छ । यस्ता अभिलेखको तथ्याङ्क सङ्कलन गरी अभिलेखीकरण गरी राख्नु अत्यावश्यक भइसकेको छ ।
चापागाउँ बजारको मूल सडकसँगै रहेको लिच्छवि राजा शिवदेव प्रथमको इस्वी संवत् ५९० तिरको शिलालेखमा स्थरुद्रङ्गका बासिन्दालाई राजाले कुशलमङ्गल सोधनी गरेको, द्रङ्ग (त्यतिबेलाको विकसित मानव बस्ती) मा बिक्री गरिने विभिन्न जातका माछामा कर लिने गरी कर प्रथाको थालनी गरेको विषय छन् । तथापि त्यो अभिलेखका अक्षरहरू अहिले चिन्न नसकिने अवस्थामा छन् । वज्रवाराही मन्दिरपरिसरको नेपाल संवत् ७२५ को जलद्रोणीको शिलालेख खिइएर गएको कारण अक्षरहरू पढ्न नसकिने अवस्थामा छन् । लिच्छविकालमा विभिन्न गुठीको उल्लेख रहेको लेलेको माझटोलमा अवस्थित शिवदेश, अंशुवर्माको संवत् ५२६ को अभिलेख झारपात, फोहोरले सधैँ जसो छोपेर रहने हुँदा असुरक्षित देखिएको छ । लेलेमा वंशमणि आचार्यका परिवारले तिलेश्वर महादेव स्थापना गरेको संवत् १७७९ को शिलालेख बेवारिसे अवस्थामा रहेको छ । ठेचोको मूल सडकसँगै रहेको सोह्रखुट्टे पाटी (अहिले मन्द फल्चा नाम दिइएको) र सँगै रहेको जलद्रोणीमा अङ्कित शिलालेख खिइएर गएका कारण अक्षरहरू प्रस्ट छैनन् । चापागाउँको नेपाल संवत् ५९२ को जलद्रोणी मर्मत गरी गुठी राखेको जलद्रोणीको अभिलेख, मरु अष्टमीको दिनमा पूजापाठ, सम्यबजी दान गर्नुपर्ने गरी परम्परा बसाली हेरनी मयीले गुठी राखी वज्रवाराही देवीको जात्रा चलाएको देखिने नेपाल संवत् ८१९ अभिलेख अहिले हराइसकेको छ । चापागाउँ बस्तीभित्र सागर, विष्णु, चन्द्र भन्ने व्यक्तिले नेपाल संवत् ७३९ मा शाक्यमुनि बुद्ध स्थापना गरेको देखिने सत्यसिं विहार (वाःवही) परिसरभित्रको चैत्यको सिँढीमा रहेको शिलालेख, सोही चैत्यको बाहिर इखापोखरीसँगै रहेको यरखा भैरव मन्दिरमा धर्मसिंह भावो प्रमुख भई सिहंको मूर्ति स्थापना गरेको नेपाल संवत् ७८९ को शिलालेख त्यस ठाउँमा देख्न पाइँदैन ।
चापागाउँकै झ्यालपाटीटोल मूल सडकसँगै नेपाल संवत् ८१८ मा ल्वंपा भारो, वासिंह भारो, देवराम भारोसमेतको समूहले पाटी बनाई देवदेवीको मूर्ति स्थापना गरेको र चार रोपनी खेत राखी जलधेन (जलद्रोणी) बनाई गुठीसमेत राखेको देखिने उक्त टुटेधारामुनि रहेको पाटीको अभिलेख पनि अहिलेसम्म हराइरहेको छ । इतिहासविद् धनवज्र वज्राचार्यले आफ्नो पुस्तक लिच्छविकालका अभिलेख (२०३०), पूर्वमध्यकालका अभिलेख (२०६८), मध्यकालका अभिलेख (२०५६) तथा अन्य पुस्तक, पत्रिकामा प्रकाशित भएका कारण अहिले अभिलेख हराइरहेको भए पनि विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्ष दिन सक्ने भएको छ । यस नगरभित्रका कतिपय अभिलेख अप्रकाशित अवस्थामा रहेका कारण सङ्कलन नगरेमा इतिहास मेटिने अवस्था रहेको छ । बाडेगाउँको श्वेतवाराही मन्दिर बाहिर चौरमा एक शिलालेख रही त्यसमा लेखिएका अक्षरहरू मुस्किलले मात्र पढ्न सक्ने अवस्थामा छन् । गोदावरीमा नौधारा स्थापना गरेको अभिलेख पनि संरक्षण गर्नु जरुरी भइसकेको छ । कतिपय शिलालेख अहिले सम्पदा निर्माण तथा पुनर्निर्माणका क्रममा यत्रतत्र सार्ने गर्दा टुटफुट हुने गरेका छन् तर कतिपय शिलालेखहरू टुटफुट भइसक्दा पनि सम्बन्धित ठाउँमा रहेका कारण पछि नष्ट हुने खतरा बढेको छ । संवत् १९४१ मा अज्येस्तपुर (ठैव) मा धर्मशाला, पाटी बनाएको टुटफुट भएको अभिलेख सोही ठाउँको सरस्वती चौरको पाटीमा राखेको अहिले पनि देख्न सकिन्छ । त्यसरी नै नेपाल संवत् ८६६ मा ढुङ्गेधारा बनाएको अभिलेख लेलेको मूल सडकसँगै रहेको पाटीमा रहेको छ, जसको तल्लो भागको छेउतिरको टुक्रा फुटेर सिमेन्ट प्लास्टर गरेको देख्न सकिन्छ । यस्ता अभिलेख गोदावरी नगरभित्रको विभिन्न मानव बस्ती, मठमन्दिर, सत्तल, पाटी, चैत्यभित्र खुला रूपमा देख्न सकिन्छ ।
लिच्छविकालमा राजकीय सनदका रूपमा शिलालेख राख्ने चलन थियो । मल्लकालमा राजाको गुणगानसहित दाताले आफ्नो र परिवारको मनोकामना पूर्ण होस् भन्ने उद्देश्यसाथ धर्म चिताई विभिन्न मठमन्दिर, पाटी, सत्तल, ढुङ्गेधारा, जलद्रोणी, चैत्य आदि बनाई शिलालेख राख्ने चलन चलेको थियो । शाहकालमा पनि यस कार्यले निरन्तरता पाएको थियो । पुर्खाहरूले विभिन्न कालखण्डमा निर्माण गरी छोडेका विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदा र यसको निर्माण तथा स्थापनाकाल दर्शाउने कतिपय शिलालेख अहिले बेवारिसे बन्न पुगेका छन् । यस्ता शिलालेखमा लेखिएका ब्राह्मी लिपि, नेपाल भाषा प्रचलित लिपि, रञ्जना लिपि सजिलै पढ्न र बुझ्न नसक्दा यसको महìव घट्दै गएको छ । स्थानीयले अभिलेखप्रति चासो नराख्दा र संरक्षणको शैली नबुझ्दा रङ लगाउने, पूजाआजाका क्रममा टीका, अबिर दलेर अक्षर नै नचिनिने बनाउने, धूप तथा दियो बालेर कुरुप बनाउने, यत्रतत्र सार्ने गरेको पाइन्छ । यस्ता अभिलेखको संरक्षण र संवर्धन गरी सुरक्षित राख्ने कार्यमा नगरपालिका उदासीन देखिएको पाइन्छ । भवन बनाउने, ढुङ्गा, इँटा छाप्ने, द्वार बनाउने कार्यलाई मात्र विकास मान्ने गरिएको पाइन्छ । अभिलेख संरक्षण कार्यलाई विकास मान्न छाडिएपछि सम्पदा सङ्कटमा पर्दै गएको छ । पालिकाभित्रका महत्वपूर्ण अभिलेखको विवरण स्थानीय तहले राष्ट्रिय अभिलेखालयमा पठाएको खण्डमा त्यसको संरक्षणमा सहयोग पुग्ने छ । त्यसरी पठाइएका अभिलेख दर्ता गरी राख्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय अभिलेखालयको हो ।
संविधानमा अभिलेख संरक्षण
नेपालको संविधानको धारा ५६ अनुसार नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह हुने स्थानीय तहको अधिकारको प्रयोग संविधान, गाउँ सभा र नगर सभाले बनाएको कानुनबमोजिम हुने गरी संविधानको धारा ५७ मा उल्लेख गरिएको छ । त्यसै गरी संविधानको धारा २२१ अनुसार नगरपालिकाको व्यवस्थापकीय अधिकार नगर सभामा निहीत रहन्छ । यस अर्थमा गोदावरी नगरपालिकाको नगर सभाले अनुसूची ८ मा उल्लिखित अभिलेख संरक्षणको विषयमा आवश्यक कानुन बनाउन सक्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्धन र विकास गर्ने काम, कर्तव्य र अधिकार नगरपालिकाको हुने गरी तोकेको छ । नगरपालिकाले यस दफाबमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानुन, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागु गर्न सक्ने गरी यसैको उपदफा (७) मा उल्लेख गरेको छ । यसै ऐनको दफा १२ अनुसार ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारकको लगत राख्ने, तथ्याङ्क अद्यावधिक गर्ने, संरक्षण गर्ने, पाश्र्वचित्र तयार गर्ने अधिकार सम्बन्धित वडा समितिको हुने गरी तोकेको छ । अभिलेख संरक्षण ऐन, २०४६ को दफा ११ (क) बमोजिम स्थानीय तहले आफ्ना अभिलेखको संरक्षण र व्यवस्थापन गर्न सक्छ । अभिलेखको संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था सम्बन्धित स्थानीय तहको कानुमा व्यवस्था भएबमोजिम हुने गरी उपदफा (२) मा गरेको छ । स्थानीय तहबाट प्राचीन स्मारकको संरक्षण हुने गरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ (ज) मा उल्लेख गरेको छ । यो दफा प्रारम्भ हुँदाका बखत नेपाल सरकारले संरक्षण र व्यवस्थापन गरेका प्राचीन स्मारकमध्ये स्थानीय महìवका प्राचीन स्मारक सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने र त्यसको संरक्षण र व्यवस्थापन विभागले तोकेको मापदण्डबमोजिम सम्बन्धित स्थानीय तहले गर्नु पर्छ । स्थानीय तहमा हस्तान्तरण भइआएका प्राचीन स्मारकको संरक्षणको प्रयोजनका लागि स्थानीय तहले ऐनको दफा ३ बमोजिम संरक्षित स्मारक क्षेत्र घोषणा गर्न सक्छ । उक्त कानुनी व्यवस्थालाई हेर्दा गोदावरी नगरपालिकाले ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र, शिलापत्रको प्रतिलिपि वा तस्बिर तथा विभिन्न हस्तलिखित ग्रन्थको संरक्षण, संवर्धन गर्ने, त्यसको अभिलेखीकरण गर्ने जस्ता आवश्यक कार्य कानुन बनाई गर्न सक्छ ।
गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा मूर्त सम्पदाको निर्माण तथा पुनर्निर्माणलाई अगाडि बढाउने र नगरपालिकाभित्रका जात्रा, गुठी, नाचको संरक्षण गर्नेबाहेक अभिलेख संरक्षणको विषयमा कुनै नीति तथा कार्यक्रम ल्याइएको र आवश्यक बजेट विनियोजन गरेको पाइँदैन । अभिलेख संरक्षण सम्बन्धमा आवश्यक सूचना गोदावरी नगरपालिकामा माग गर्दा कुनै कानुन निर्माण नभएको र अभिलेखको विवरण सङ्कलित अवस्थामा नरहेको भनी २०८१ मङ्सिर ६ गते जानकारी दिइएको थियो ।