• ११ माघ २०८१, शुक्रबार

लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने

blog

निर्मित लामाबगर सुरुङमार्ग । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, माघ ११ गते । राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर-दक्षिण कोरिडर अन्तर्गत दोलखाको बिगु गाउँपालिका-१ लामाबगर नाका खोल्न सरकारले बहुवर्षीय ठेक्का लगाउने भएको छ । 

भारत–नेपाल र चीन तीन देश जोड्ने उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको लामाबगर नाका खोल्न लामो समयदेखिको पहल मिहिनेतपछि सरकारले यस वर्ष २० करोड रुपियाँको स्रोत निश्चित भएपछि बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको बताइएको छ । 

बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङका अनुसार यो त्रिदेशीय कोरिडोर २४४ किलोमिटर सडकमा सिँगटी–भीठ्ठामोड २०८ किलोमिटर सडक पक्की बनेको छ । सिँगटी–लामाबगर २८ किलोमिटर ग्राभेल भएको छ । लामाबगर–जुमखोला पाँच किलोमिटर निजी हाइड्रोले निर्माण गरिरहेका छन् । जुमखोला–तिब्बत सिमाना तीन किलोमिटर सडक बनेर सञ्चालनमा आएपछि दोलखासहित मध्यपहाड र तराईका क्षेत्रमा राम्रो प्रभाव पर्ने देखिएको छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावटा क्षमताको आयोजना निर्माण गरिरहेको एमभी दुगढ हाइड्रो पावर प्रालिले आफ्नै लगानीमा निर्माण सुरु गरेको सडक खण्डको जटिल मानिएको सुरुङमार्ग निर्माण सम्पन्न भई अरु सडक निर्माणको काम अघि बढिरहेको छ । 

सारै जटिल मानिएको सुरुङमार्ग एक हजार ९४ दशमलब १८ मटिर लामो र ६ वाई ५.५ डायमेन्सनको रहेको छ । सुरुङमार्गभन्दा लप्चीतिरको देउराली खरानेखोलासम्मको सडक माघ महिनाभित्र सक्ने गरी काम भइरहेको सुमो कन्स्ट्रकक्सन प्रालिका साइड कर्मचारी हेमराज तमाङले जानकारी दिनुभयो । 

सडक सञ्जाल नजोडिँदा बिगु गाउँपालिकाका बासिन्दा भए पनि लप्चीवासी अर्कै मुलुकका नागरिक झै छन् । लामाबगरबाट लुम्नाङ एक दिन र लप्ची दुई दिनको पैदलयात्रापछि मुस्किलले पुगिन्छ । वर्षा लागेपछि त आवतजावत नै पूरा बन्द हुन्छ । सुरुङमार्ग बनेर ३२ किलोमिटर सडक बनेपछि लप्चीवासीको कायपलट नै हुने वडाध्यक्ष तामाङले बताउनु भयो  । 

सडक नहुँदा यहाँ पाँच वटा हाइड्रोपावर बन्न सकेका छैनन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटो बन्द हुँदा चौँरी र भेडाबाख्रा पनि यही सुरुङमार्गबाट हिँड्न मिल्ने गरी निर्मााण भएको हो ।