राधाकृष्ण डुम्रे
वालिङ, माघ ११ गते । जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाउन स्याङ्जा प्रशासन र जिल्लाका स्थानीय तहहरुले सहकार्य गर्न सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लागु औषधको दुरुपयोगलाई नियन्त्रण, अपराध नियन्त्रण र स्थानीय तहमा शान्ति सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरुसँग सहकार्य गरेको जनाएको छ । जसका लागि प्रशासनले जिल्लाका ११ वटै पालिकामा पुगेर जनप्रतिनिधिहरु तथा सरोकारवालासँग छलफल र सचेतता कार्यक्रम गरिरहेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जनप्रतिनिधिहरुको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर काम गर्दा अपराध नियन्त्रणमा सफलता मिल्छ भने नागरिकले पनि शान्ति सुरक्षाको महसुस गर्छन ।”
प्रशासन र स्थानीय तहबिच सञ्चारको खाडल रहँदा समस्या आउने गरेको भन्दै उहाँले भन्नुभयो,“कम्युनिकेश ग्याप हुँदा समस्या आउने गरेको छ ।”
जिल्ला प्रशासनको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतसँग छलफल गरेको छ । छलफलमा बोल्ने बक्ताहरुले प्रशासन र स्थानीय तहको समन्वय अपरिहार्य रहेको बताए ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांंणले प्रशासन र प्रहरीसंँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई सुरक्षित महशुस गराउन सहकार्य आवश्यक रहेको प्रमुख खांणको भनाइ छ ।
छलफलमा नेपाली कांग्रेसका कार्यबाहक सभापति केदार काफ्ले, नेकपा एमालेका नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले सिद्धार्थ राजमार्गको प्रयोग गरेर हुने अवैध लागु औषध नियन्त्रण, पछिल्लो समय बढेका चोरी घटना लगायतका विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता, भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।