• ११ माघ २०८१, शुक्रबार

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड

blog

फाइल तस्बिर ।

लीलाधर वली

घोराही, माघ ११ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताउनुभएको छ। 

तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले लामो समयदेखि स्तरवृद्धि हुन नसकेको विमानस्थलको विस्तारका लागि पहल गर्ने बताउनुभएको हो । 

राजनीतिक खिचातानीका कारण लामो समयदेखि स्तरवृद्धि गर्ने कुरा उठे पनि हुन नसकेको भन्दै प्रचण्डले भन्नुभयो, "दाङसहित राप्ती क्षेत्रका लागि टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन आवश्यक छ । यहाँबाट नियमित रुपमा हवाई सेवा सञ्चालनका लागि म पहल गर्नेछु ।" प्रदेश राजधानी भएको ठाउँको विकासका लागि पनि टरिगाँउ विमानस्थलको विस्तार हुन आवश्यक रहेको बताउनुभएको हो ।

टरिगाँउ विमानस्थलको स्तरवृद्धिका सन्दर्भमा अहिले सबै राजनीतिक दलको एजेण्डा मिल्दै गएकाले २०११ सालमा स्थापना भएको विमानस्थलको विकास र विस्तार अब कसैले रोकेर नरोकिने उहाँले बताउनुभएको थियो । उहाँले विमानस्थलले स्तरवृद्धिले दाङसहित समग्र राप्ती क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । 

टरिगाउँ विमानस्थलको स्तरवृद्धिसँगै नियमित हवाई सेवाका लागि तुलसीपुर उद्योग बाणिज्य सङ्घले नियमित रुपमा पहल गर्दै आएको छ । दाङमा आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।