• ११ माघ २०८१, शुक्रबार

स्वास्थ्य क्षेत्रमा धेरै विकास भएकाे छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल

blog

फाइल तस्बिर ।

निशा राई 

धरान, माघ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताउनुभयो । धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने एकाइ, क्यान्सर उपचार  एकाइ र फार्मेसी भवनको उद्घाटन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । 

यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडि बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो । त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल बिपी अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेलले बताउनुभयो। 

सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो । जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उहाँले बताउनुभयो । 

फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न आग्रह गर्दै औषधीको लिष्ट सुचिकृत सहितको बोर्ड पनि बाहिर टाँसन जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो ।

किमो दिन पनि काठमाडौं, चितवन जानुपर्ने अवस्था रहेकोले आमनागरिकको सेवाको लागी सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने कार्यक्रम राखेकोमा धनगढी, भेरी, सुर्खेत लगायत सबै प्रदेशमा सुरु भएको छ भने बिपी अस्पतालमा समेत प्रभावकारी रुपमा उपचार गर्न शुरु गरिएको उहाँले बताउनुभयो । 

नेपालको आठ अस्पतालमा जलनको उपचार गर्न विपन्न वर्गलाई निःशुल्क दिने निर्णय गरी लागु गरिएको बताउनुभयो । काठमाडौंको वीर अस्पताल, कीर्तिपुर अस्पताल लगायत बिपी अस्पतालमा समेत आजबाट शुरु गरिएको स्वास्थ्यमन्त्री पौडेलले बताउनुभयो ।

यस अस्पतालले धेरै मानिसलाई सेवा दिइरहेकोमा अझै तिन प्रकारको सेवा दिनलाई सुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । अस्पतालले यस क्षेत्रका बिरामीहरुलाई मात्र नभएर यस क्षेत्र बाहेक अन्य क्षेत्रका मानिसले पनि सुविधा पाउने उहाँले बताउनुभयो । 

उपचार गर्ने मान्छेले प्रेसरमा काम गर्न नसक्ने भएकोले चिकित्सकहरुलाई डर, त्रास भयरहित कानुनी व्यवस्था गरी र चिकित्सकहरुलाई सम्मान गर्न जरुरी रहेको बताउनुभयो । 

तीन वर्ष अगाडि प्रतिष्ठानकै आन्तरिक स्राेतबाट निर्माण गर्न सुरु गरिएको भए पनि कोभिडको महामारीको कारण समयमा निर्माण गर्न नसकिएको बिपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले बताउनुभयो । यस भवनलाई परिमार्जन गर्न र जलनका बिरामी र क्यान्सरका बिरामीकाे उपचार  गराउनका लागी अलि ढिला भए पनि ४ वर् देखि उपचार दिँदै आएको बताउनुभयो । 

हाल पहिलो तल्लामा फार्मेसी सेवा, दोस्रो तल्लामा क्यान्सरको उपचार र तेस्रो तल्लामा जलनको उपचारको डिपार्ट छुट्याइएको उपकुलपति गिरीले बताउनुभयो । हाल जलनको उपचारको लागि २० वटा बेड र आईसियुको लागि १० वटा बेड तयार भएको उहाँले बताउनुभयो । पूर्ण रुपमा उपचार सेवा शुरु गरेपछि यी डिपार्टहरु छुट्टिने उपकुलपति गिरीले बताउनुभयो । 

बिपी अस्पताल पूर्वको नमुना अस्पताल र सबैभन्दा धेरै उपचार हुने अस्पताल रहेको धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राईले बताउनुभयो । यस अस्पतालमा स्वास्थ्य सामग्रीदेखि मेशिनरी समानहरु, एमआरआई मेशिन लगायतका बिग्रेका मेशिनहरु बनाउन वा खरिद गर्नसमेत सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्ड अनुसार यस अस्पतालमा धेरै विद्यार्थी पढाउन सकिने भएकोले यसका लागि पनि विद्यार्थी कोटा थप्न जरुरी रहेको बताउनुभयो । बिमा वापत उपचार गराउँदा सर्वसाधारणलाई सहज भए पनि बिमा बोर्डले समयमा भुक्तान गर्न ढिलाइ गर्दा बिपी अस्पताललाई सञ्चालन गर्न गाह्रो भएकोले यसका लागि सरकारले सहज गरिदिनुपर्ने नगरप्रमुख राईले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा उपप्रमुख आइन्द्रविक्रम बेघा, बिपी अस्पतालका पदाधिकारीहरु, जनप्रतिनिधिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।