सुलीकोट समाचारदाता
सुलीकोट, माघ ११ गते । गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झन्डै ६५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् ।
आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कुल ६५ हजार ३४६ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो आवको अघिल्लो छ महिनामा सबैभन्दा बढी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् । सङ्ग्रहालयको अवलोकन गर्न आउने नागरिकको यकिन डाटा निकाल्नका लागि नेपाली, सार्क राष्ट्र र अरू विदेशी नागरिक रहेका उहाँले जानकारी दिनुभयो ।
सङ्ग्रहालयको तथ्याङ्क अनुसार ६५ हजार ३४६ जनामध्ये ३६ हजार ३३३ जना आन्तरिक पर्यटक, २७ हजार ९१८ जना नेपाली विद्यार्थी, सार्क राष्ट्रका ५६ जना र तेस्रो राष्ट्रका विदेशी एक हजार ३९ जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । अवलोकन गर्नेहरू साउन महिनामा ७०५ जना, भदौमा पाँच हजार ५८६ जना, असोजमा चार हजार १३० जना, कात्तिकमा २१ हजार २०१ जना, मङ्सिरमा १५ हजार ४६१ जना र पुसमा १८ हजार १७१ जना रहेका छन् ।
अघिल्लो वर्षको तुलनामा यो आवको सोही अवधिमा दुई हजार ७०८ जनाभन्दा बढी व्यक्तिले सङ्ग्रहालय अवलोकन गरेका छन् । अघिल्लो वर्ष भने सोही अवधिमा कुल ६२ हजार ७०८ जनाले अवलोकन गरेको सङ्ग्रहालय प्रमुख कार्कीले बताउनुभयो ।
२०६५ साल जेठ १९ गते गोरखा सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरेलगत्तै यहाँ आउने पर्यटकको पृथ्वीनारायण शाहको ऐतिहासिक एकीकरण तथा शाह वंशको इतिहास हेर्न भिड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
गोरखा दरबारमा आउने आन्तरिक तथा बाह्य पर्यटकले बढी जसो पृथ्वीनारायण शाहले प्रयोग गर्ने ओछ्यान, बाल्यकाल हुँदा खेल्ने ठाउँ, नेपाल एकीकरण गर्दा प्रयोग भएका हातहतियार, विभिन्न कलाकौशल र तोपलगायतका हातहतियार हेर्ने र जिज्ञासा राख्ने गरेका छन् । गोरखा सङ्ग्रहालयमा पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग भएका पुराना सामग्री देख्न पाइन्छ ।