• ११ माघ २०८१, शुक्रबार

‘पस्मिना नेपालको पहिचान’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ । नेपाल पस्मिना उद्योग सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको पस्मिना महोत्सव तथा प्रदर्शनी उद्घाटन गर्दै मन्त्री भण्डारीले चीन र मङ्गोलिया जस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पस्मिनाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएकाले पस्मिना नेपालको पहिचान भएको बताउनुभएको हो ।

“नेपाली पस्मिनाको यति राम्रो बजार छ, सिप पनि छ । विश्व बजारमा चिनाएको पनि छ । विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चाहिँ चिन्ताको विषय हो,” उहाँले भन्नुभयो ।

उहाँले युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पस्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्न सरकार जुटेको जानकारी दिनुभयो । 

धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुन सुधारका काम धमाधम अगाडि बढाइसकेको बताउनुभयो । वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि छिट्टै काम गरिने जानकारी दिँदै मन्त्री भण्डारीले साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उल्लेख गर्दै नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबिच सहकार्यको खाँचो रहेको औँल्याउनुभयो । नेपाली उत्पादनको प्रवर्धनमा महासङ्घले पनि आवश्यक सहयोग तथा सहकार्य अगाडि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पस्मिना निर्यातमा देखिएका समस्या समाधान तथा व्यापार विस्तारका विषयमा जोड दिनुभयो ।

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि पस्मिना प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी स्टल छन् ।

मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पस्मिनाका स्टल, च्याङ्ग्रादेखि पस्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पस्मिनाको फेसन सो र नेपाली रैथाने खानाका परिकार छन् । तीन दिनसम्म चल्ने मेलामा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सङ्घका अनुसार आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ३८ करोड २५ लाख मूल्य बराबरको दुई लाख चार हजार वर्गमिटर पस्मिना निर्यात भएको थियो ।