कोकिला भण्डारी
धनकुटा, माघ १० गते । भत्ता लिएर घर फर्कँदै गर्नुभएकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिनुभएको छ । उहाँले बोक्नु भएको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोलस्थित जिल्ला अस्पतालको अगाडि बुधवार दिउँसो करिब १२ बजे अज्ञात समूहले लुटपाट गरेको छ ।
धनकुटाको मुख्य बजारमा वृद्ध लुटिँदासमेत प्रहरीले यस विषयमा चासो दिन सकेको छैन । सुरक्षा व्यवस्थामा प्रश्न उठेको भन्दै तत्काल खोजी कार्य गरी दोषी माथि कारबाही गर्न स्थानीयहरूले माग गरेका छन् । डिउटीमा खटिएका प्रहरी चोकचोकमा नभएर मोबाइल र अन्य क्षेत्रमै व्यस्त हुने गरेको आरोप स्थानीयको छ ।
भत्ता लिएर फर्केको कसरी जानकारी पायो यो गम्भीर विषय छ । मदन चोक नजिकै रहेको माछापुच्छ्रे बैङ्कबाट वृद्ध भत्ता निकालेर जाँदै गर्दा धनकुटा नगरपालिका १० घर भएकी वृद्धा लुटिनुभएको हो । नगद र कागजपत्रसमेत भएको झोला लुटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।