गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १० गते । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन निवेदन दिएका छन् ।
बचतकर्ताले सहकारी संस्थाबाट चार अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपियाँ माग दाबीसहित निवेदन दिएका काठमाडौँ महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले गोरखापत्रलाई जानकारी दिनुभयो । यसअघि काठमाडौँ महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदाबी गरेका हुन् ।
महानगर सहकारी विभाग प्रमुख ढकालले बचत फिर्ताका लागि महानगरमा परेको निवेदनबारे आफूले सङ्घीय सरकार अन्तर्गतको सहकारी विभागसँग छलफल गरी जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले बचतकर्ताको रकम फिर्ता गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।