सिद्धार्थनगर, माघ ९ गते। गोरखापत्रकर्मी कपिल ज्ञवाली पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ। बुटवल जेसीजको ५१ औँ पदस्थापन समारोहमा ज्ञवालीलाई स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार २०२४ प्रदान गरिएको हो। युवा र जेसीज अभियानमा केन्द्रित रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँलाइ पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्य, बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरे, छनोट समितिका संयोजक नारायण घिमिरेलगायतले दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्नुभएको हो।
करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्र संस्थानमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता हुनुहुन्छ।
त्यस्तैगरी उत्कृष्ट युवा सम्मानबाट समृद्वि सलुन एण्ड ऐकेडेमी बुटवलका सञ्चालक देवदह ७ निवासी मोहन ठाकुर सम्मानित हुनुभएको छ। पदस्थापन समारोहमा बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेलाई पदस्थापन गराउनु भएको थियो।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले युवाको भरोसालाई जेसीजले कायम राख्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशमै युवाको भविश्य सुचिश्चि हुनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो। पाण्डेयले बुटवल जेसीजले नेपाल जेसीजलाई नै लिड गर्ने क्षमता राख्ने बताउँदै क्षमता प्रदर्शनका लागि नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो। बुटवल जेसीजका मानार्थ सदस्य बुटवल निवासी समाजसेवी गणेशमान सैजुको निधनपछि उहाँको स्मृतिमा छोरा अनुपमान सैंजुले बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको थियो।