• ९ माघ २०८१, बुधबार

प्रदेशसभा अधिवेशन २१ गते बोलाउने निर्णय

blog

फडिन्द्र अधिकारी
लेखनाथ, माघ ९ गते ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेलाई बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिनुभयो । “मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ,” उहाँले भन्नुभयो, “बुधबार सिफारिसको पत्र प्रदेश प्रमुखकहाँ पठाउँछौँ ।”

प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ७ गते अन्त्य भएको थियो । अहिले प्रदेश सभाका विषयगत समितिमा दुई विधेयक छलफलमा छन् । केही दिनअघि सार्वजनिक लेखा समिति बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको थियो ।