• ७ माघ २०८१, सोमबार

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुखमा डा. भुसाल

blog

डा. भीष्मकुमार भुसाल ।

काठमाडौँ, माघ ७ गते । सहसचिव डा. भीष्मकुमार भुसालले राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नु भएको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख छनोट प्रक्रिया जारी रहेकै समयमा भुसाललाई प्रमुखको जिम्मेवारी दिइएको हो । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन (दोश्रो संशोधन) नियमावली २०८१ को प्रावधानअनुसार प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो । 

भुसालले सोमबारदेखि नै कार्यकारी प्रमुखको कार्यभार सम्हाल्नुभएको छ । तात्कालिन प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलको कार्याकाल समाप्त पछि झन्डै एक महिनादेखि सो पद रिक्त थियो । 

पोखरेलको कार्यकाल समाप्त भएर पद रिक्त रहेको समयमा भुसालकै नेतृत्वमा प्राधिकरणको कार्यकारी समितिको बैठक पनि बसेको थियो । भुसालकै सक्रियतामा लामो समयदेखि अड्किएको भूकम्प र मनसुन पछिको पुनर्निर्माण योजना स्वीकृत भएको छ । 

यस्तै जाजरकोट भूकम्पको एक वर्षपछि डिडिए गर्ने निर्णय भएको छ भनो डोटी भूकम्पको पुनर्निर्माण प्रक्रिया पनि यसै बिचमा सुरु भएको छ । रोकिएका कामहरू दुत गतिमा अघि बढाइरहेका डा. भुसाललाई नै प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाले आगामी दिनमा विपद् व्यवस्थापन कार्यमा पनि प्रभावकारी काम हुने विश्वास गरिएको छ । 

सङ्घ तथा प्रदेशका विभिन्न मन्त्रालयमा बसेर काम गरिसकेका डा. भुसालले गृह मन्त्रालयमा रहँदा गृह प्रशासन सुधार योजना, २०७८ ल्याउने तथा मिटर ब्याजी विरुद्धको कारबाहीको प्रथम प्रतिवेदन कानुनको मस्यौदा बनाउने काममा प्रमुख भुमिका निर्वाह गर्नुभएको थियो । 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रमुख रहेको समयमा कार्यालय प्रमुखलाई नै पक्राउ गरेर सुशासन कायम गराउने सवालमा उल्लेखनीय काम पनि गर्नुभएको थियो ।

स्पेनबाट अर्थशान्त्रमा विद्यावारिधी गर्नुभएका डा. भुसालले अर्थव्यवस्था, सुशासन, वातवरण तथा विपद् व्यवस्थापन लगायतमा विशिष्ठ तहको तालिम पनि लिनुभएको छ । 

कर्मचारी प्रशासनमा कडा स्वभावका व्यक्तिको रूपमा पहिचान बनाउन सफल भुसालले प्राधिकरणका प्रमुख कार्यकारी पद रिक्त रहेकै समयमा विपद् व्यवस्थापन सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गराउन सफल हुनुभएको छ ।