प्रत्येक प्राणीको जीवन अन्ततः माटोसँग जोडिन्छ । मानिसका निम्ति त माटो र आमा उस्तै हुन् । प्राण र पोषणका निम्ति माटोले दिने अनाजको विकल्प हुँदैन । अन्नमै जीवन छ तर यताका दशकमा माटोलाई बर्बाद गर्ने कार्यले व्यापकता पाएको छ । बढी अन्न उब्जाउने लोभमा माटोको जैविक शक्तिमा व्यापक क्षयीकरण हुँदै छ । रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटोले दिने उर्वरा शक्तिमा ह्रास आउन थालेको छ । रासायनिक मलको बढी प्रयोगले उत्पादन त भएको होला तर त्यसको दुष्प्रभाव अनेक छन् । त्यस्ता खाद्यान्नको प्रयोगबाट व्यापक रोगव्याधिले सताउन थालेको छ । अस्पताल र आधुनिक औषधीको प्रयोग बढ्दै गए पनि जटिल रोगको विस्तारमा विराम छैन । यो अझ बढ्दै छ । विगत चार/पाँच दशकमा बढ्दो आयातित रासायनिक मलले नेपालमा परम्परागत जैविक कृषिमा अवरोध गरेको छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभावका अनेक विरूपता देखिन थालेका छन् । यसै मेसोमा सुर्खेतका केही किसान भने फेरि जैविक खेतीतर्फ फर्कन थालेका सुखद समाचार आएको छ । रासायनिक मलको उच्च प्रयोग गर्ने किसानले अहिले जैविक विषादी प्रयोग गर्न थालेका छन् ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, साँदीखोलाका किसानले पहिले पहिले तरकारी तथा अन्नबालीमा किरा लागे रासायनिक विषादी प्रयोग गर्ने गरेका थिए । त्यहाँका किसान टेकबहादुर घर्तीले अचेल भने घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको अनुभव सुनाउनुभएको छ । १० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका उहाँ दुई वर्षयता जैविक विषादीको प्रयोगमा लाग्नुभएको छ । उहाँ जस्तै अन्य किसानले पनि जैविक विषादीको प्रयोगमा रुचि राख्न थालेका छन् । ‘मोहनी पासो’, ‘फेरोमन ट्र्याप’ लगायतका प्रविधि किरा नियन्त्रणमा प्रयोग गरिन थालेको किसानको भनाइ छ । भेरीगङ्गा नगरपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भए सहज हुने कृषि शाखा प्रमुख सुरज बिसीको भनाइले पालिकाले संस्थागत तवरले नै रासायनिक विषादीको विकल्पलाई प्रोत्साहन गरिरहेको छ । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीव पर्छन् । विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्व मिसाएर जैविक मल तथा विषादी बनाएर उपयोग गर्न सकिने छ ।
रासायनिक मलको प्रयोगबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को माटो अनुसन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा केहीअघि एउटा अनुसन्धान गरेको थियो । सो अनुसन्धानले माटोमा अम्लीयपनाको मात्रा बढ्दै गएको पाइएको नाजुक अवस्था देखाइएको छ । तराईका २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको माटोको नमुना सङ्कलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको छ । अम्ल तथा क्षारको मात्रा तटस्थ हुँदा मात्रै उत्पादन राम्रो हुन्छ । रासायनिक मलको बढी प्रयोगबाटै अम्लीयपन बढ्ने कृषि वैज्ञानिकको भनाइ छ । उत्पादन बढाउन रासायनिक मलको प्रयोगले दीर्घकालीन असर पर्ने छ । रासायनिक मलको अत्यधिक प्रयोग गर्ने ठाउँमा माटोको अवस्था खराब हुँदै जान्छ । माटोमा प्राङ्गारिक अर्थात् जैविक मलको मात्रा घट्दै जाँदा अम्लीयपना बढिरहेको छ । रासायनिक मलले केही समयका लागि उत्पादन बढाए पनि दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने कृषि वैज्ञानिकको मतलाई नीतिनिर्माताले समेत बुझ्नु जरुरी छ ।
कृषि वैज्ञानिकका अनुसार जैविक मलको प्रयोग कठिन छैन । छ्वाली, पराललगायतलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । सहरी कुहिने सबै फोहोर जैविक मलका स्रोत हुन् । सुर्र्खेतका धेरै किसानले यताका वर्ष मल तथा विषादीका निम्ति जैविक आयाममा रुचि राख्न थालेका छन् । त्यहाँका किसानलाई वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) ले जैविक विषादीसम्बन्धी तालिम र उपकरण प्रदान गर्न थालेपछि फेरि जैविक कृषितर्फ अग्रसर हुन थालेको देखिएको हो । जैविक विषादीको प्रयोगले माटो सप्रेको र उत्पादनमा समेत वृद्धि हुन थालेको किसानको अब्बल अनुभव छ । सुर्खेतका किसान मात्र होइन, कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादन बढाउन सामुदायिक सिकाइ केन्द्र निर्माण गर्ने भएको छ । प्रदेशका १० वटै जिल्लामा सिकाइ केन्द्र स्थापना गरेर प्रदेशले जैविक विषादीको उत्पादनमा जोड दिने लक्ष्य आफैँमा सकारात्मक छ । कर्णालीमा अर्गानिक कृषिलाई प्राथमिकता दिन सक्दा अर्गानिक खानपानको केन्द्र बनाउन सकिने देखिन्छ ।