• ८ वैशाख २०८२, सोमबार

जिल्ला अस्पताललाई कम्बल सहयोग

blog

कम्बल सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी अछाम जिल्ला अस्पताल परिसरमा । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना

अछाम, माघ ६ गते । उपचारका क्रममा भर्ना भएका बिरामीहरुको सहजताका लागि कम्बल र तन्ना जिल्ला अस्पताललाई कम्बल सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसनिकट स्कुल अफ डेमोक्रेसी, अछामले तातो कम्बल र तन्ना सहयोग गरेको हो । 

बिरामीहरुको न्यानोपनका लागि तातो ४० थान कम्बल, ५०–५० थान तन्ना र सिरानी सहयोग गरिएको डेमोक्रेसी अछामका सचिव बम स्वारले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले कम्बल, तन्ना र सिरानी अस्पताललाई हस्तान्तरण गर्नुभयो । 

मन्त्री खड्काले चिसोको समयमा अस्पतालका बिरामीहरुका लागि तातो कम्बललगायतका सामग्री सहयोग गर्नु परोपकारी काम भएको भनाइ राख्नुभयो । मन्त्री खड्काले समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रका समस्या समाधान गरेर जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवामा केन्द्रित भएको भनाइ राख्नुभयो । 

प्रदेशका सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित पहाडी जिल्लामा समेत सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको पनि मन्त्री खड्काको भनाइ छ । चिसो बढ्दै गइरहेकाले अस्पतालमा भर्ना भएका बिरामीलाई तातो कपडाको अभाव हुन नदिन न्यानो कम्बल, तन्ना र सिरानी सहयोग गरिएको बताइएको छ । 

निःशुल्क सहयोग हस्तान्तरण क्रममा मंगलसेन र कमलबजार नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, स्वास्थ्यकर्मी र काँग्रेस नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । न्यानो कपडा हस्तान्तरण कार्यक्रम स्कुल अफ डेमोक्रेसी, अछामका अध्यक्ष पदमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।