गुणबहादुर रोका
सुलीकोट, माघ ६ गते । गोरखामा १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा पालुङटार नगरपालिकाको सह आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता पालुङटारस्थित भवानी माविको माझटार खेलकुद मैदानमा आयोजना गरिएको उहाँले बताउनुभयो। पालुङटार नगरपालिकाको खेलकुद मैदानमा सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको छ ।
उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्रोत साधनको अभावले गर्दा उत्कृष्ट खेलाडी उत्पादन गर्न नसकेको भन्दै गण्डकी प्रदेश सरकारले खेलाडीको सम्मानमा यो वर्षदेखि मेडल वितरण गर्नुका साथै ओलाम्पिक खेलहरूमा भाग लिने खेलाडीहरूलाई मासिक रूपमा भत्ता दिने घोषण गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिनमा ३ हजार मिटर दौड छात्र, छात्रा,२ सय मिटर दौड, छात्र, छात्रा, ४ सय मिटर दौड छात्र छात्रा लम्जङ छात्र, छात्रा खेलहरू हुने भएको पालुङटार शिक्षा शाखाका अधिकृत सन्तोष पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै हाइजम्प, सटपुट लगायतका खेलहरू गरी कुल ६५ खेल समावेश गरिएको पालुङटार नगरपालिकाका शिक्षा शाखा अधिकृत पाण्डेले बताउनुभयो । प्रतियोगितामा जिल्ला भरिका ११ वटा पालिकाहरूले सहभागिता जनाएका छन् ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षता भएको प्रतियोगितामा प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख वासुदेव पाठक विभिन्न पालिका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो ।