सिरहा, माघ ६ गते । सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिराहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता सदरमुकाम सिराहामा रहेको सूूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । यस प्रतियोगितामा सिराहा नगरपालिकाका २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा क्रियाशील युवा खेलाडीलाई समेटी उनीहरूको अन्तरनिहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगरप्रमुख डा. नवीनकुमार यादवले बताउनुभयो । उहाँले युवाहरूलाई कुलतबाट बचाउन र विदेश पलायन हुनबाट रोक्न यो प्रतियोगिताको विशेष महत्व रहने धारणा व्यक्त गर्नुभयो । प्रतियोगितामा विजेतालाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । रासस