• १४ माघ २०८१, सोमबार

अवैध रूपमा वैदेशिक रोजगारीमा नजान अपिल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ६ गते । राम्रो काम र कमाइको प्रलोभनमा देखाएर अवैधानिक रूपमा विभिन्न मुलुकमा नेपाली नागरिकको ओसारपसार भएको पाइएको भन्दै ती मुलुकस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएका छन् । युरोप, मध्यपूर्व तथा एसियाका विभिन्न देशमा राम्रो आर्थिक आम्दानी हुने भन्दै गैरकानुनी रूपमा काममा लगाइएको पाइएकाले सचेत रहन दूतावासले अनुरोध गरेका हुन् । यही क्रममा अवैध रूपमा लाओस लगिएका एक जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ । 

आकर्षक तलबसहितको रोजगारीको प्रलोभनमा लाओस पुगेका नेपाली नागरिकलाई गोल्डेन ट्र्याङ्गलमा गैरकानुनी काम गर्न लगाएपछि उनी त्यहाँबाट भागेर थाइल्यान्ड पुगेका थिए । बैङ्ककस्थित नेपाली दूतावासको पहलमा थाइल्यान्ड सरकारको सहयोगमा शुक्रबार उनलाई नेपाल फिर्ता पठाइएको दूतावासले जानकारी दिएको छ । 

लाओसको गोल्डेन ट्र्याङ्गल आपराधिक समूहले अवैध कामधन्दा गर्ने स्थलका रूपमा परिचित छ ।  त्यहाँ पुगेका जोकोहीलाई पनि त्यस्ता समूहले बन्धक बनाएर आफू अनुकूलका काम लगाउने गरेको पाइन्छ । दूतावासले तोकेको मापदण्डविपरीत अवैध रूपमा वैदेशिक रोजगारमा नजान अपिल गरेको छ । कानुनविपरीत छिटो र धेरै पैसा कमाइन्छ भन्ने प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका कुनै पनि मुलुकमा नआउन पनि दूतावासले अनुरोध गरेको छ । 

पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभन दिँदै नेपाली नागरिक अवैध रूपमा म्यानमारको युद्धग्रस्त क्षेत्रमा लगिने क्रम बढेकाले सतर्क हुन यसअघि नै सचेत गराइएको थियो । 

त्यस्तै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, क्रोएसिया, माल्टालगायतमा लैजाने प्रलोभनमा पारेर नेपाली नागरिकलाई पोल्यान्ड तथा बुल्गेरियामा अवैध काममा लगाउने गरेको सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले नेपाली नागरिकको अवैध ओसारपसारमा सामाजिक सञ्जाल दुरुपयोग गर्दै प्रलोभनसहितको झुटो प्रचार भइरहेको पाइएको जनाएको छ । जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, त्यही मुलुकमा काम गर्न सुझाउँदै दूतावासले त्यस्ता प्रलोभनमा नपर्न र अवैध कार्यमा संलग्न नहुन अपिल गरेको छ । अञ्जानमा त्यस्ता गतिविधिमा संलग्न भएको थाहा भएमा प्रमाणसहित दूतावासमा उजुरी दिन पनि अनुरोध गरिएको छ ।