• ५ माघ २०८१, शनिबार

‘गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला प्राथमिकताका साथ अघि बढाउन आवश्यक’

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्ने क्रममा बोल्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

विराटनगर, माघ ५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार बिहान रङ्गशालाको अनुगमन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवम् शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो ।


‘‘पहिले यो रङ्गशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्त्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’’

‘मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थिएँ, त्यसको डिपिआर बनेर अहिले इआईए पनि भइसकेको राष्ट्रिय खेलकुद परिषदबाट जानकारी पाएको छु’’ उहाँले भन्नुभयो, ‘‘यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’’

आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिनुहुँदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।