• ५ माघ २०८१, शनिबार

ईर्ष्याका फूलहरू

blog

मन्दिरसामु उभिएको छु । सुनेको छु, मन्दिरभित्र ईश्वर छन् । र, ईश्वर लुकेर हेरिरहेछन् बाहिरको संसार । मन्दिरपरिसरमा धेरै मान्छे छन् पङ्क्तिबद्ध– उनै ईश्वरको दर्शनार्थ ।

सबै दर्शनार्थीका हातमा थाली । थालीमा ईश्वर पुज्ने सरसामग्री छन्– चन्दन, केशरी, धुप, फूलप्रसाद इत्यादि । 

म, मन्दिरको एकछेउमा उभिएको छु हातमा एक थुँगा फूल लिएर । सोचिरहेछु, ईश्वरको नजिकै पुगेर फूलको थुँगा चढाउँछु र लुकेर बसिरहेका ती ईश्वरको सकेँ भने दर्शन गरेरै छाड्छु ।

हेर्न मन लागेको छ मलाई, कस्तो होला ईश्वरको अनुहार ? गोरो कि कालो ? हँसिलो कि गम्भीर ? त्यो अनुहार पहिल्याउन चाहन्छु ।     

ठेलमठेल, दर्शनार्थीहरू एक... एक... मन्दिरको सिँढी चढ्दै गइरहेछन् । मन्दिरको ढोकामा पुग्न म पनि लालायित छु । तर ! पङ्क्तिबाहिरको म, एक अलग प्राणी झैँ, मानौँ तथाकथित कुनै अछुत जातको मान्छे; मलाई सिँढी उक्लन दिइएको छैन । 

सिँढी तलैबाट म एकोहोरो हेरिरहन्छु, मन्दिरभित्र मान्यवर भएर छेकिएर बसेका ईश्वरलाई । र फेरि, हेर्छु आफ्नो हातको फूलको थुँगा । ओहो, के हो यस्तो ? एकछिनअघिसम्म मुस्कुराइरहे झैँ झरिझुट्ट फक्रिएको फूलको थुँगा ओइलिन लागिसकेको छ । 

म, अब लामो प्रतीक्षा गरिरहन सक्तिनँ । ईश्वरको अनुहार हेर्ने लालसालाई मनमस्तिष्कबाट फुत्तै निकालिदिन्छु । मन दह्रो पार्छु । मस्तिष्कलाई झट्कार्छु र अचानक सम्बोधन गर्छु ईश्वरलाई, “हे ईश्वर ! म कतिन्जेल पर्खूं !” र, फूलको थुँगा आकाशतिर उठाउँदै भन्छु, “लौ, तिमीलाई !”   

म फूल फ्याँक्छु तिमीमाथि

तिमीलाई

आँखामा लाग्छ

छातीमा लाग्छ

मुटु भए मुटुमा लाग्दो हो

तिमीलाई कत्ति पनि दुख्दैन ईश्वर ?

म आश्चर्यचकित छु, के तिमी सबैले भने झैँ ढुङ्गाबाटै निर्मित हौ कि क्या हो ? अन्यथा, तिमीलाई अलिकति भए पनि दुख्नैपर्ने हो । त्यसो त, फूलको प्रहारले कष्ट कहाँ हुन्छ र ! फूलको त स्पर्श हुन्छ । तथापि, आफ्नो शरीरसँग अन्य दोस्रो केही कसैको स्पर्शको अनुभूतिले सामान्यतः फरक त पर्छ नै । भनूँ, झस्काउँछ । यस दृष्टिकोणले तिमीमा कुनै प्रतिक्रिया हुनुपर्ने हो तर तिमी व्यक्त गर्दैनौ नि ! प्रतिक्रिया नजनाउनु भनेको अर्थात् प्रतिक्रियाविहीन हुनुको अर्को अर्थ ढुङ्गा हुनु नै त हो । 

के तिमी साँच्चै नै ढुङ्गै हौ ? त्यसो हो भने, मलाई आशङ्का छ ईश्वर तिम्रो जन्मप्रति । मलाई तिमीसँग सोध्ने अधिकार छ– तिमीलाई जन्माउने जन्मदाता को हुन् ? त्यसो त मैले सुनेको छु– तिमीलाई बनाउने त मान्छे हुन् रे ! 

तिमी अर्थात् ईश्वर ! 

मान्छेद्वारा प्रतिपादित ईश्वर बनेका तिमी मान्छेकै चरित्रको हुनुपर्ने होइन र ? तिमी त मजाले बोल्नुपर्ने, खुसीको बेला अट्टहास छाडेर हाँस्नुपर्ने, पीडाको बेला धुरुधुरु रुनुपर्ने । तर, ठिक विपरीत तिम्रो चरित्र ! कसरी ढुङ्गा भयौ तिमी ? मेरोसामु प्रश्नवाचक चिह्न खडा छ  । के, मान्छेले तिमीलाई अनुभूतिशून्य वस्तु बनाएका हुन् र ? कम्तीमा, तिम्रा आँखा झिमिक्क त 

हुनुपर्ने ! तर अहँ, पटक्कै चालचुल छैन तिमीमा ।

तिम्रो चरित्रले मभित्र कता कता, तिमी अभिनय गरिरहेका त छैनौ भन्ने शङ्का उब्जिरहेछ ईश्वर । सम्भवतः भित्र... कहीँ दुखेर पनि नदुखे जस्तो गरिरहेका पो हौ कि तिमीले ! या त कुनै अरू रहस्य छ तिम्रो प्रतिक्रियाविहीनतामा ?

चुपचाप तिमी 

सहिरहन्छौ

वा,

फूलहरूको अभिनन्दनमा

तिमी गौरव मानिरहन्छौ,

के तिमीलाई

शङ्का लाग्दैन ईश्वर

मान्छेको यो आक्रमणप्रति ??

जिल्ल पर्छु म तिम्रो मौनता देखेर । त्रस्त पनि छु, मान्छे भएर ईश्वरमाथि यसरी फूल फ्याँक्नु हुन्नथ्यो कि ! के, ईश्वरमाथि फूल फ्याँक्नु मुनासिब छ ? मलाई थाहा छ, भएभरको बल लगाएर मैले तिमीमाथि फूल फ्याँकेको हुँ । एक हिसाबले भन्नेहरूले त– प्रहार नै गरेको भन्ठान्लान् । फेरि, कसैले यस्तो मात्र पनि सोच्न सक्लान् कि यो केवल मान्छेभित्र भएको चरित्र हो, ईश्वरको दर्शन गर्न नपाएको झोँक हो, आवेग हो ।

जेसुकै होस्, भन्नेले जे भनून्, सोच्नेले जे सोचून्, तिम्रो मनमा के छ ? भन त ईश्वर ! कतै मक्ख परेर बसेका त होइनौ तिमी ? चुपचाप बसेरै मान्छे भन्ने जातलाई छटपटाहट दिलाएका हौ कि ! कता कता शङ्का लाग्छ मलाई तिमीप्रति, मान्छेहरूले नदेख्ने या नबुझ्ने गरेर भित्रभित्रै मुसुमुसु हाँस्दै भनिरहेका छौ कि– लट्ठक यी मान्छेहरू ! मैले केही भनेकै छैन, मैले मलाई पुज भनेर भनेकै छैन । तर, फेरि पनि किन ठुला मानेर पुजिरहेका छन् मान्छेले मलाई ? मैले केही बुझ्नै सकेको छैन । त्यसो त, बुझ्नै किन परिरह्यो र मलाई ? यसरी, सित्तै मलाई मान्छेहरूले सम्मान गर्छन् भने मेरो के जान्छ ? म ढुक्कले सम्मानित भएरै बसिरहन्छु, मान्छेको समाजमा ।...

मान्छेसँग कत्रो भरोसा तिम्रो ! थाहा छ नि तिमीलाई, कति विकृति फैलिएको छ– मान्छेको समाजमा ! तिम्रै कसम खाएर तिम्रै नाममा व्यापार गर्छन्, तिम्रै नाममा शिक्षा दिन्छन्, तिम्रै नाममा राजनीति गर्छन् । के थाहा, मैले तिमीमाथि फ्याँके पनि तिमीलाई चढाएको देखिएको फूलको थुँगामा समेत तिमीप्रतिको घृणा पो छ कि ! कस्तो सहनशील तिमी ईश्वर !

ईश्वर, अनौठोकै चरित्र छ तिम्रो ! यत्तिकै, कुनै विशेष चरित्र प्रदर्शन नगरीकनै सबैको विश्वासमाथिको विजेता भइरहेछौ । कुनै युद्ध लड्नु परेको पनि छैन, चुपचाप... चुपचाप... कसैसँग लड्दै नलडी सबै मान्छेलाई जितिरहेछौ । तर, मान्छे कुस्ती लडेर वा एकआपसमा प्रतिस्पर्धा गरी एकले अर्कोलाई जित्ने भरमग्दुर कोसिस गरे पनि कसैले कसैलाई जित्न सक्दैनन् । चाहे धर्म गर्ने निहुँमा नै किन नहोस्, पाखण्डको भजन गाइरहन्छन् । सायद यसैकारण भन्ने गरिएको हो– ढुङ्गा एक पटक मन्दिर के गएथ्यो, ईश्वर बनेछ । मान्छे भने जिन्दगीभर मन्दिर धाइरह्यो, अहँ मानव बन्न सकेन ।

म, त्यही मानव बन्न नसकेको एक मान्छे ! तिम्रो चियोचर्चो गरिरहेछु– तिमी कसरी ईश्वर बन्यौ ? सायद तिमीलाई थाहा छ र पनि थाहा नपाए झैँ गरिरहेछौ मेरो सम्पूर्ण कार्यकलाप । हो त, म पनि तिमी जस्तै ईश्वर बन्ने बहाना खोज्दै छु । अझ भनूँ– प्रपञ्च रच्दै छु । थाहा छ ईश्वर ? तिमीलाई झुक्याइरहेछु मैले ।

म जो

फूल फ्याँक्छु तिमीमाथि

कागजको फूल 

प्लास्टिकको फूल

रङ्गविहीन फूल

बास्नारहित फूल 

तर, तिमी मौन ! एकदम मौन ! अनभिज्ञ सानो बालक झैँ सब स्विकारिरहेछौ । के यो तिम्रो प्रेम हो मप्रतिको ? हो 

भने किन ??? 

ईश्वर,

यतिविघ्न तिम्रो प्रेम किन

मेरा ईष्र्याका यी फूलहरूसँग ???