• ५ माघ २०८१, शनिबार

बोरामा पराल खाँदेर पर्यटकलाई ओछ्यान

blog

काठमाडौँ उपत्यकाबाट ३० किलोमिटर दुरीमा रहेको धुलिखेल एउटा सांस्कृतिक पर्यटकीय सहरका रूपमा परिचित छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलको बजार क्षेत्रमा नेवार समुदायको बसोबास छ । यहाँका नेवार व्यापारका सिलसिलामा नेपालभर छरिएको पाइन्छ । ग्रामीण क्षेत्रमा सडक पहुँच पुग्नुअघिसम्म पूर्वी पहाडका काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, खोटाङ, भोजपुर जिल्लाको प्रमुख व्यापारिक स्थलका रूपमा बनेपा र धुलिखेल नै थियो । तथापि सडक पहुँच विस्तारपछि पनि पूर्वको ढोकाका रूपमा बनेपा–धुलिखेल रहेको छ । 

चिनियाँ सहयोगमा अरनिको राजमार्ग निर्माण हुनुअघि काठमाडाैँबाट बनेपासम्म सार्वजनिक यातायातका रूपमा लरी (ट्रक) चल्दथ्यो । त्यो बेला बनेपा–धुलिखेलका व्यापारीले बोरामा प्याक गरेर ल्याएको सामानमाथि बसेर यात्रा गर्नुपर्ने बाध्यता यात्रुको थियो । कि त हिँडेरै बनेपाबाट भक्तपुर, मध्यपुर ठिमीहुँदै सिनामङ्गल निस्किनु पर्दथ्यो । त्यसबेला काभ्रे र सिन्धुपाल्चोक पूर्व २ नम्बरमा पर्दथ्यो । सो इलाकाको बडाहाकिम प्रशासक चौतारा (सिन्धुपाल्चोक) मा बस्थे । त्यहीँबाट काभ्रे र सिन्धुपाल्चोक जिल्लाको प्रशासन चलाउँथे । बडाहाकिम कामविशेष पर्दा मात्र धुलिखेल आउजाउ गर्दथे ।  अरनिको राजमार्ग निर्माण हुनुअघि जनसङ्ख्या निकै कम भएको पहाडी बजारका रूपमा धुलिखेल थियो । त्यस समय सरकारी अड्डाका रूपमा मालपोत, प्रहरी इन्स्पेक्टर कार्यालय र मालखाना जस्ता सीमित कार्यालय मात्र थिए । 

सन् १९६७ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले चीनको स्वशासित क्षेत्र तिब्बतसित सहज सडक यातायात जोडेको थियो । सो सडक निर्माणको समय रुस र अमेरिकाबिच शीतयुद्ध चलिरहेको थियो । त्यो सडक निर्माणलाई लिएर अमेरिका र भारत असन्तुष्ट रहेको चर्चा थियो । तिनताक नेपालको सडक यातायात पहुँच रक्सौल (विहार भारत) सम्म त्रिभुवन राजपथ मात्र थियो । जननिर्वाचित विश्वेश्वरप्रसाद कोइरालाको सरकार अपदस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि सन् १९६१ मा चीनको भ्रमण गरेका थिए । त्यसै ताका काठमाडौँ कोदारी सडक निर्माणबारे नेपाल–चीनबिच सम्झौता भएको थियो । राजा महेन्द्रले नेपाल–चीन सीमाको कोदारीसम्म पक्की सडक बनाउने स्वीकृति चीनलाई दिएपछि अमेरिका तथा भारत त्यति खुसी देखिएका थिएनन् । सोही बेला भारतीय पत्रकार गिरिलाल जैनले राजा महेन्द्रसित कोदारी राजमार्गको निर्माणले कम्युनिस्टको प्रभाव बढ्ने छ ? भन्ने प्रश्न गर्दा राजा महेन्द्रले ‘कम्युनिस्ट ट्याक्सी चढेर आउँदैन’ भनेर दिएको जवाफ एक समय खुबै चर्चामा थियो । 

विसं २००७ को क्रान्तिपछि नेपाली समाज खुला परिवेशतर्फ अघि बढ्यो । त्यससँगै विदेशीको आगमन हुन थाल्यो । सन् ६० को दशकमा अमेरिकाले त्यहाँका युवालाई अनिवार्य सैनिक सेवामा संलग्न गराउन थालेपछि युवाशक्ति पलायन हुन थाल्यो । ती युवा नेपालतिर आकर्षित भए । स्वतन्त्र रूपमा घुमफिर गर्दै हिँड्ने त्यो युवाको प्रवेश नेपालमा ह्वात्तै बढ्यो; जसलाई एङ्ग्री जेनरेसन (हिप्पी) भन्न थालियो । काठमाडौँको वसन्तपुर, झोँछे र मरुहिटीमा ती युवाको जक्सन बनेको थियो । त्यस ठाउँमा सहजै उपलब्ध गाँजा, चरेसको सर्कोमा तनावमुक्तको अनुभव बटुल्दै युवा मस्त हुन थाले । हिप्पीहरू नयाँ ठाउँको खोजी गर्दै धुलिखेलसम्म पुग्न थाले । काठमाडौँको कोलाहलबाट धुलिखेल पुगेका हिप्पीहरू धुलिखेलको शान्त वातावरण, ग्रामीण सहरको परिवेश, रहनसहन र संस्कृति अनि त्यहाँबाट देखिने गणेश हिमाल तथा लाङटाङ हिमाललगायत हिमाली शृङ्खला हेरेर मोहित हुन थाले । यसले गर्दा धुलिखेलमा पर्यटकको आगमन बढ्न थाल्यो । 

विदेशी पर्यटकको आवतजावत बढ्दै गएपछि धुलिखेल बजारको चोकैको एउटा घरमा सन् १९८२ मा चार कोठाको लज सञ्चालन गरियो । ओछ्यानका रूपमा पातलो जालीदार बोरामा पराल ठोसेर त्यसमाथि तन्ना र तकियाको व्यवस्था गरी ‘बेड’ बनाइयो । चलनचल्तीमा आएको कार्पेटका रूपमा परालकै सुकुल बनाई भुइँमा ओछ्याइयो । त्यसबाहेक पर्यटकको सुविधाका लागि केही थान काँटा–चम्चा, चिया पिउने केही थान कप–प्लेट र खाना खान थाल–कचौरा, गिलासको व्यवस्था गरियो । दाउराको सट्टा स्टोभमा खाना पकाउने व्यवस्था भयो । पश्चिमा चलन अनुसार बिहान ‘ब्रेकफास्ट’, दिउँसो नेपाली खाना दाल, भात, तरकारी र अचारसहितको ‘लन्च’ को व्यवस्था गरियो । एउटा बेडको चार रुपियाँ ५० पैसा शुल्क तोकियो । त्योबेला सो लजले एउटा नारा अघि सारेको थियो, ‘टु युएस डलर अ डे’ । यी सबै सोच र सुरुवातकर्ता हुनुहुन्थ्यो, बेलप्रसाद श्रेष्ठ ।

२०१५ सालपछि जिल्ला विकास बोर्ड बनेपाका जागिरे बेलप्रसाद श्रेष्ठ एउटा तालिमका लागि शिक्षकका रूपमा क्यालिफोर्निया (अमेरिका) पुग्नुभएको थियो । पिसकोर स्वयंसेवक नेपाल आउनुअघि उनीहरूलाई अभिमुखीकरण तालिम दिन बेलप्रसाद अमेरिका पुग्नुभएको थियो । अमेरिकामा एक वर्ष बस्दा बेलप्रसादले पश्चिमा सभ्यता, संस्कृति र जीवनशैली बुझ्ने मौका पाउनुभयो । त्यसबेलादेखि नै बेलप्रसादले पश्चिमा खाना संस्कृति र सभ्यताको झल्को दिने लज धुलिखेलमा खोल्ने सपना देख्नुभएको थियो । त्यसैले पिताको कपडा व्यापारभन्दा होटेल लज व्यवसायतिर बेलप्रसादको दिलचित्त बढेको थियो । 

दुई रुपियाँमा बस्ने खाने व्यवस्था । पर्यटकका लागि सस्तो भए पनि नेपालीका लागि राम्रो आम्दानी थियो, त्यो । धुलिखेलमा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि चार कोठाबाट प्रारम्भ भएको धुलिखेल लजमा १० कोठा थपियो, लजको सेवा १४ कोठामा पुग्यो । पर्यटक बढ्दै गए । पर्यटकका लागि सेवा थपिँदै गयो । त्यस समय दैनिक १८ घण्टासम्म काममा खटिएको सम्झना बेलप्रसादसँग अहिले पनि ताजै छ । पर्यटकलाई ‘बे्रकफास्ट’ खुवाउन चार किलोमिटर टाढा बनेपा पुगेर पाउरोटी ल्याउनुपर्ने अवस्था थियो । पाहुनालाई भगवान् जस्तो मान्ने नेपाली परम्पराका ठाउँमा पाहुनासँग पैसा लिएकोमा बजारका पाका मानिस त्यति खुसी चाहिँ थिएनन् । तथापि हरिकृष्ण न्हसिजु, रामचन्द्र धिताङ्जू र श्रीलाल माकजू जस्ता मानिसले चाहिँ बेलप्रसादको काममा प्रोत्साहन नै थियो । 

यतिबेला रिसोर्ट, होटेलको सहर भएको छ, धुलिखेल । धुलिखेलका भित्ता, पाखा, डाँडा, थुम्की सबैतिर रिसोर्ट खुलेका छन् । फूलबारी, नमोबुद्ध, दाप्चासम्म होटेल, रिसोर्ट फैलिएको छ । विदेशी कम्पनीसमेत सो क्षेत्रमा होटेलमा लगानी गर्न आइपुगेका छन् । जसको सुरुवाती सङ्घर्ष बेलप्रसादले गर्नुभएको थियो ।  

साउन भदौमा मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीको रोजाइमा पर्दै आएको छ, धुलिखेल । भक्तपुर, नमोबुद्ध तथा पनौती क्षेत्रको भ्रमणमा आउने पर्यटकको पहिलो रोजाइ धुलिखेल बन्न थालेको छ । पर्यावरणमा समेत ख्याल राख्दै नगरपालिकाले पर्यटन तान्ने रणनीति पनि बनाएको पाइन्छ । धुलिखेल नगरपालिकामा कोइला बाल्न नपाइने नीति बनाइएको छ ।

भक्तपुरको जगातीदेखि धुलिखेलसम्म छ लेन सडक निर्माणपछि धुलिखेलमा पर्यटकको आवागमन अझ बढ्न सक्ने अवस्था छ । त्यसैले धुलिखेलमा पर्यटकको बसाइ लम्ब्याउने रणनीति बनाउनु आवश्यक छ । त्यसका लागि पनौती, शङ्खु, खोपासी, बल्थली, नमोबुद्ध, पलाञ्चोक र दाप्चा जस्ता सांस्कृतिक नगरीको प्रवर्धन गर्नु आवश्यक छ । त्यसका अलवा दोलालघाटबाट वराहक्षेत्रसम्म जलयात्रा गर्न सकिने अवस्था पनि छ ।