समयमै पित्तथैलीमा पत्थरीका लागि शल्यक्रिया गर्न सकिएन वा केस अलि जटिल नै भइसक्यो भने केही समयका लागि एन्टिबायोटिक औषधी प्रयोग गरी उपचार गरिन्छ । एक पटक पित्तथैली निकालेपछि परिणाम राम्रो हुन्छ, हल्का चिल्लो पचाउन नसकिने तथा ग्यास्ट्राइटिसको समस्याबाहेक ।
पित्तथैलीमा पत्थरीको समस्यालाई कोलेलिथियासिस र पित्तथैलीको सुजनलाई मेडिकल भाषामा कोलेसिस्टाइटिस भनिन्छ । विश्वभर १० देखि १५ प्रतिशत वयस्कमा पित्तथैलीको पत्थरीको समस्या र यसै कारण पित्तथैलीको सुजनको समस्या हुन सक्छ ।
यस समस्या भएका धेरैजसोमा कुनै पनि लक्षण चिह्न नदेखिन सक्छ । तर पित्तथैलीमा पत्थरी बनेपछि शरीरले यसलाई बाहिर पठाउन खोज्ने हुनाले प्रायः पित्तथैलीको सङ्कुचन (खुम्चिने), फुक्ने हुँदा बिरामीलाई बेलाबखत दुखाई हुने हुन्छ । पेटको माथिल्लो भाग अथवा दायाँ कोखा –दायाँपट्टिको तल्लो करङको ठिकमुनि), दायाँ काँधमा दुखाई हुनुका साथै वाक्वाकी लाग्ने कहिलेकाहीँ ज्वरो आउने तथा माथिल्लो पेटको बिच भागमा पनि दुख्ने हुन्छ । यस्तो पीडा प्रायः चिल्लो खाना खाएपछि हुन्छ भने लगत्तै वाक्वाकी लाग्ने, उल्टी आउने हुन्छ । शारीरिक परीक्षणको क्रममा पित्तथैली रहने भाग अर्थात् पेटको माथिल्लो दायाँ कोखा करङमुनि निकै पीडा हुन्छ ।
एक्कासि हुने खालको अधिकतर पित्तथैलीको सुजन (९० प्रतिशतभन्दा बढी) पित्त बहने नलीमा पत्थरीको अवरोधको कारणले हुन्छ । पित्तथैलीमा पत्थरी भएकामध्ये एकदेखि पाँच प्रतिशत बर्सेनि पित्तथैली वा पित्तनलीको सङ्कुचनको कारण हुने पीडा (दुखाई) को समस्याको सामना गर्नुपर्ने हुन्छ । पित्तथैलीको सुजनमा हुने पीडा पित्तथैली सङ्कुचन मात्रमा भन्दा अलि लामो हुन्छ । यदि पित्तथैलीको पत्थरीको समयमै उपचार (धेरै जसो समय शल्यक्रिया गरी पित्तथैली नै निकाल्ने) नगरेसम्म पित्तथैलीको सुजन पटक पटक भइराख्छ । यदि उपचार नगरिएमा पित्तथैली सङ्कुचन भएकामध्ये २० प्रतिशतमा एक्कासी पित्तथैलीको सुजन हुने सम्भावना हुन्छ । एक्कासि पित्तथैलीको सुजन हुने क्रममा पत्थरीका कारण पित्त बहनेमा अवरोध भएपछि पित्त बाक्लो हुने, पित्तथैली पनि रातो, सुन्निने र तन्किने हुन्छ ।
पित्तथैली सुरुमा कीटाणुरहित भए पनि बिस्तारै ब्याक्टेरिया (ई कोलाई, क्लेबसिल्ला, स्ट्रोप्टोकोकस, क्लोस्ट्रिडियम) ले सङ्क्रमण गर्न सक्छ । पित्तथैलीको सुजन बाहिरतिर फैलिएर पित्तथैलीको बाहिरी खोल र नजिकका अङ्गहरू जस्तै डायफ्राम भनिने (पेट र फोक्सो बिचको बाक्लो मांसपेसी) मा पुगेपछि यसै कारण दायाँ काँधमा पीडा हुन सक्छ । करिब ५ प्रतिशतमा बिनापत्थरी पनि पित्तथैलीको सुजन हुन सक्छ, जसलाई मेडिकल भाषामा अक्याल्कुलस कोलेसिस्टाइटिस भनिन्छ । लामो समयसम्मको पित्तथैलीको सुजनलाई जीर्ण (क्रोनिक) खालको मानिन्छ । पटक पटकको एक्कासि पित्तथैलीको सुजन जस्तै यो पनि पित्तथैलीको पत्थरीकै कारणले हुन्छ । जीर्ण खालकै कारण विभिन्न जटिलता निम्तिन सक्छ । पित्तथैलीमा पत्थरीको कारण पित्तथैलीको सुजन हुन्छ भने पित्तथैलीको सुजनको जटिलताका रूपमा प्यान्क्रियाज ग्रन्थीको सुजन, पित्त बहने नलीमा पत्थरी, पित्त नलीकै सुजन हुन सक्छ । यसका साथै पित्तथैली नै कुहिने, पित्तथैली फुट्ने, पिप बन्ने, असामान्य प्वाल बन्ने, अर्को अङ्गसँग जोडिन गई असामान्य नली (फिस्टुला) बन्ने सम्भावना हुन्छ ।
पत्थरीको जोखिम तत्व
परिवार नियोजनको साधनमध्ये पिल्स चक्कीको सेवन, गर्भवती भइसकेकी महिला, पारिवारिक इतिहास, मोटोपना, मधुमेह, कलेजोको समस्या, छिटो तौल घट्नाले, कहिलेकाहीँ पित्तथैलीको सुजनकै कारण, भास्कुलाइटिस (शरीरको प्रतिरक्षात्मक प्रणालीमा दखल पर्न गई रक्तनलीको सुजन हुने अवस्था), केमोथेरापीको उपयोग, ठुलो खालको चोटपटक एवं जलनको घटनाबाट तङ्ग्रिँदै गर्दा पनि पित्तथैलीमा पत्थरीको समस्या विकसित हुन सक्छ । यस समस्या हुने १० प्रतिशतमा भास्कुलाइटिस, केमोथेरापी, ठुलो चोट वा जलनको कारणले हुन्छ । सारांशमा यसको कारक तत्वमा अङ्ग्रेजी फाइभ एफ (फिमेल–महिला), फोर्टी (चालिसको उमेर कटेपछि), फर्टाइल (बच्चा पाइसकेको), फ्याट (मोटोपना भएका) र फेयर (गोरो वर्णका) लाई मानिन्छ । कतिपय जातिमा पनि यसको समस्या बढ्ता हुने गरेको छ, जस्तै अमेरिकन इन्डियनमा बढी । बुढ्यौली उमेर, मधुमेह, जीर्णरोग, प्रतिरोध क्षमता कम भएका व्यक्ति तथा गर्भवती अवस्थामा पित्तथैलीको सुजनको लक्षण चिह्न स्पष्ट नहुन सक्छ ।
पित्तथैलीको सुजनको आशङ्का यसका लक्षण चिह्नबाट गरिन्छ भने ल्याब जाँच तथा पेटमा गरिने अल्ट्रासाउन्डबाट निक्र्योल गरिन्छ । यसको अलावा रगतका सबैखाले कोषिकाको जाँच, सी रिएक्टिभ प्रोटिन र बिलिरुबिनको लेभल हेर्नुपर्ने हुन्छ । उपचारको हकमा ल्यापारोस्कोपी प्रविधिबाट पित्तथैली निकाल्ने शल्यक्रिया गरिन्छ । यस्तो शल्यक्रिया पित्तथैलीको सुजन भएको २४ घण्टा भित्रै वा अन्य बेला (रोग पत्ता लागिसकेको तर दुखाई नभएको बेला) पनि गर्न मिल्छ । यदि समयमै पित्तथैलीमा पत्थरीका लागि शल्यक्रिया गर्न सकिएन वा केस अलि जटिल नै भइसक्यो भने केही समयका लागि एन्टिबायोटिक औषधीको प्रयोग गरी उपचार गरिन्छ । एक पटक पित्तथैली निकालेपछि परिणाम राम्रो हुन्छ, हल्का चिल्लो पचाउन नसकिने तथा ग्यास्ट्राइटिसको समस्याबाहेक । यदि पित्तथैलीबाट तल झरेको पत्थरी वा पित्त मिश्रित लेदो कमन बाइल डक्टमा रहेछ भने इआरसिपी भनिने प्रविधि वा शल्यक्रियाबाटै त्यसको निराकरण गरिन्छ । यदि पित्तथैली निकाल्ने शल्यक्रिया गर्नै सकिएन भने शल्यक्रियाका बेला पित्तथैलीको भित्रको कसिङ्गर, लेदो वा स–साना पत्थरीलगायतका तत्व निकाल्ने मात्र गरिन्छ । कालान्तरमा पत्थरी बन्ने कार्य दोहोरिन सक्छ ।
पित्तनलीमा सिबिडी स्टोन
पित्तनलीमा पत्थरीलाई मेडिकल भाषामा कोलेसिस्टोलिथियासिस भनिन्छ । पित्तथैलीमा पत्थरी बन्नु नै यसको मुख्य कारण वा जोखिम तत्व हो । यस समस्यामा दायाँ कोखामा पीडा हुनुका साथै जन्डिस देखापर्ने तथा दिसाको रङको माटो जस्तै हुने मुख्य लक्षण हुन् भने काम छुट्ने ज्वरो पनि आउन सक्छ । करिब ७० प्रतिशत लक्षणरहित हुन सक्छ तर पनि १० प्रतिशतमा पाँच वर्षभित्र र २० प्रतिशत २० वर्षभित्र लक्षणचिह्न देखा परिसक्छ । पित्त बहने नली (कमन बाइल डक्ट) मा पत्थरीमा आएपछि यसैको अवरोधका कारण पित्तथैलीको सङ्कुचनका लक्षण चिह्नहरू देखा पर्छन् । कतिपयमा जन्डिस पनि हल्का देखिन्छ । प्रायः पित्तनलीका पत्थरी सानो आन्द्राको पहिलो भाग (ड्युडेनम) हुँदै शरीरबाट बाहिरिने गरे पनि ठुलो खाले पत्थरीले अवरोध गरेको खण्डमा गम्भीर खालको जन्डिस पनि देखा पर्न सक्छ । यसै कारण प्यान्क्रियाज र पित्तनलीको सुजन हुन सक्छ ।
आमाशयको अल्सरका कारण आमाशय प्वाल परेमा, प्यान्क्रियाजको सुजन, कलेजोमा पिप जम्ने, निमोनिया, हृदयाघात, हायटल हर्निया, पित्तथैलीको सङ्कुचन, पित्तनलीमा पत्थरी, पित्तनलीको सुजन, एपेन्डिक्सको सुजन, आन्द्राको सुजन, आन्द्रा थुनिने, अवरोध हुने, मिर्गौलामा पत्थरी, पित्तनली भित्रै जुका पर्ने समस्यासँग पित्तनलीमा पत्थरीको समस्या झुक्किन सक्छ ।
पित्तनलीमा पत्थरीको समस्याको निदानका लागि रगत जाँच (रगतका सबैखाले कोषिकाको जाँच), सी रियाक्टिभ प्रोटिन र बिलिरुबिनको लेभल जाँच गर्नुपर्ने हुन्छ । रगतमा कन्जुगेटेड बिलिरुबिन, अल्कालाइन फोस्फेटेज र कोलेस्टेरोलको लेभल बढेको हुन्छ । यसका साथै अल्ट्रासाउन्डको अलावा एचडिए (हेपाटिक इमिनोडाइएसिटिक एसिड) स्क्यान र सिटी स्क्यान (यदि जटिलता आशङ्का गरिएमा) गर्नुपर्ने हुन्छ र एमआरसिपी–म्याग्नेटिक रेजोनेन्स कोलान्जिओप्यान्व्रिmयाटोग्राफी), इआरसिपी (इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जिओप्यान्व्रिmयाटोग्राफी) गर्नुपर्ने हुन्छ र इआरसिपी उपचारात्मक पनि हुन सक्छ । यस क्रममा लेजर वा बास्केट प्रविधि अपनाएर पित्तनलीको पत्थरी निकालिन्छ तर कतिपय बेलामा शल्यक्रिया नै आवश्यक हुन्छ ।
पित्तनली के हो ?
मानव शरीरमा सिस्टिक डक्ट र कमन बाइल डक्ट भनेर दुईथरीका पित्त नली हुन्छन् । कलेजोमा पित्तको निर्माण भएपछि हेपाटिक डक्ट (कलेजोबाट सुरु भएको पित्त बहने नली) का माध्यमबाट पित्तथैलीमा आइपुग्छ, त्यहाँ भण्डारण हुने क्रममा पित्तको गाढापन बढ्छ । मानिसले चिल्लो खानेकुरा खाएपछि त्यसलाई पचाउनका लागि पित्त निष्कासन हुन्छ । पित्तथैलीको पित्त पित्तथैलीकै नली (सिस्टिक डक्ट) हुँदै सानो आन्द्राको पहिलो खण्ड (ड्युडेनम) सम्म आउने क्रममा लागि कलेजोबाट सुरु भएको पित्तनली (हेपाटिक डक्ट) मा जोडिन आउँछ । यसरी हेपाटिक डक्ट र सिस्टिक डक्ट जोडिएपछिको नलीलाई मेडिकल भाषामा ‘कमन बाइल डक्ट अर्थात् सिबिडी’ भनिन्छ । पित्तथैलीमा विकसित भएको पत्थरी अधिकतर यही कमन बाइल डक्ट हुँदै ड्युडेनमको बाटो भई शरीरबाट बाहिरिन्छ । कथंकदाचित पत्थरीको आकार ठुलो छ भने कमन बाइल डक्टमै अड्केर अवरोध खडा गर्ने हुन्छ । यस्तो बेला ज्वरो र जन्डिससहितको पित्तनली (कमन बाइल डक्ट) को सुजन हुन सक्छ, जसलाई मेडिकल भाषामा कोलेन्जाइटिस भनिन्छ ।