• ३ माघ २०८१, बिहिबार

महिलाहरुलाई बाध्यवादन तालिम

blog

तालिममा सहभागि महिलाहरु मादल बजाउँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ३ गते । सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ । १५ दिने तालिम अन्तर्गत स्थानीय महिलाहरुका लागि मादल, खैजडी र मजुरा बजाउन सिकाइएको हो ।

कार्यक्रमको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अहिलेको समयमा शिक्षासँगै सीप हुनुपर्ने बताउनुभयो । उहाँले सीपसहितको शिक्षाले मानिसको जीवन धेरै सहज हुने बताउँदै नगर भौतिक विकाससँगै मानवीय विकासतर्फ अग्रसर भएको बताउनुभयो ।

समाजमा समानुपातिकरुपमा विकासलाई अघि बढाएको बताउँदै नगरबासीहरुलाई पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । नगर प्रमुख पाण्डेयले करोडौँका बजेट विनियोजन गरी गरिएका भौतिक विकासभन्दा यस प्रकारका तालिमले आफूलाई पनि आत्मसन्तुष्टी भएको बताउनुभयो । वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले तालिमले संस्कृतिसमेत संरक्षण हुने बताउनुभयो । यस किसिमका तालिमलाइ निरन्तरता दिनेउहाँको भनाइ छ ।

बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरको संयोजन रहेको कार्यक्रममा बुटवल वडा नम्बर १५ का टोल विकास र आमा समूहका करिब ८२ जना महिलाहरुको सहभागिता रहेको थियो । ट्रेनिङ सेन्टरले स्थानीयहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ । 

मादल खैजडी र मजुरा बजाउन सिकाएका प्रशिक्षक विष्णु कडेलले सिकेको सीपलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । प्रशिक्षार्थी वसन्ती जोशी भुसाल,इन्दिरा मरासिनी काफ्ले,जया घिमिरे लगायतले १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताउनुभयो । वार्ड सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले विभिन्न समयका शुभकार्यमा महिलाहरुले पनि बाध्यवादनका सामग्री बजाउन जान्नैपर्ने भएकाले तालिम दिइएको र फलदायी पनि भएको बताउनुभयो ।

कार्यक्रममा सरु कडेल, सेन्टरका सचिव माधव गैह्रे, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष मकरध्वज मल्ल, पूर्व गाविस अध्यक्ष हरिध्वज मल्लले सिकेको सीपलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिनुभयो ।