• ३ माघ २०८१, बिहिबार

न सडक न बत्ती, सधैँ अँध्यारोमा नार्पाभूमि बस्ती

blog

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय नार्पाभूमि । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, माघ ३ गते ।
गण्डकी प्रदेशको उज्यालो अभियानले मनाङको नार्पाभूमि गाउँपालिकालाई अहिलेसम्म छुन सकेको छैन । त्यसैगरी सडक सञ्जालका सन्दर्भमा पनि अहिलेसम्म प्रदेश सरकारको एक रुपियाँ पनि खर्च भएको छैन ।

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये एउटै मात्र सडक सञ्जालसँग नजोडिएको स्थानीय तह भनेको नार्पाभूमि गाउँपालिका हो । जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा रहेको नार्पाभूमि पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

जम्मा तीन सय ९६ जनसङ्ख्या रहेको यस पालिका राज्यविहीनकै अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘न सडक न बत्ती, सधैँ अँध्यारो नार्पाभूमि बस्ती ।’’ गण्डकी प्रदेश सरकारले ल्याएको ‘उज्यालो गण्डकी प्रदेश अभियान’ सफल हुनेमा आफू विश्वस्त हुन नसकेको अध्यक्ष लामाले बताउनुभयो ।

‘‘सङ्घीयता कायम भएपछिका आठ वर्षसम्म पनि नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेको छैन, कसरी विश्वास गर्ने यो उज्यालो अभियान पनि सफल हुन्छ भनेर ?’’ उहाँले भन्नुभयो, ‘‘देशलाई चिनाउनकै लागि महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको विकासमा सरकारले चासो दिएको छैन । संसारको महत्त्वपूर्ण पदमार्गमध्येको एक मानिने अन्नपूर्ण पदमार्गले पनि नार्पाभूमिलाई छुँदैन । अझै पनि सौर्य ऊर्जाको भरमा पालिका चलाउनुपरेको छ । टेलिफोन त कहिलेकाहीँ डाँडामा गए मात्रै टिप्छ, नत्र टिप्दैन । सडक अभावमा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सकिएको छैन ।’’

नार्पाभूमिको विकासका लागि स्थानीय सरकारबाहेक अन्य सरकारको चासो पुग्न नसक्दा उपेक्षा गरिएको आभास हुने उहाँले बताउनुभयो ।

यसै विषयमा ऊर्जा मन्त्रालयमा जिज्ञासा राख्दा मन्त्रालयले उज्यालो गण्डकी प्रदेश अभियानअन्तर्गत कुन कुन पालिकामा बत्ती पुगेको छैन, सौर्य ऊर्जा छ कि छैन र कसरी केन्द्रीय लाइनमार्फत बत्ती पु¥याउन सकिन्छ भनी प्रदेशभरिका पालिकालाई पत्राचार गरेको बताएको छ ।

ऊर्जामन्त्री फणीन्द्र देवकोटाका स्वकीय सचिव रेशम सापकोटाले कति घरधुरीमा उज्यालो छ, कतिमा छैन, केमार्फत् प्रत्येक घरधुरीलाई उज्यालो पार्न सकिन्छ लेखेर पठाउन स्थानीय तहमा पत्राचार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आगामी बजेटमा दुर्गम पालिकाका लागि केही न केही गर्नैपर्छ गरौंला । बजेट विनियोजन गर्दा यस विषयलाई लिएर गम्भीर बन्नेछौं ।’’

जिल्ला सदरमुकामदेखि पालिकाको केन्द्र च्याँखुसम्म २६ किलोमिटरको दूरी रहेको छ । यसमा प्रदेश सरकारको कुनै पनि बजेट परेको छैन । पालिका स्वयम्ले एक्स्काभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयासस्वरूप १४ किलोमिटर जति बाटो खन्ने काम भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमलकुमार अधिकारीले प्रत्येक पालिकालाई सडक सञ्जालमा जोड्ने कार्य प्राथमिकतामा रहने बताउनुभयो ।

‘‘अलि चट्टानी भीरहरूमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ त्यस्तो अवस्था आयो भने बजेट अलि नै बढी आवश्यक पर्ने हुन्छ । अहिले बजेट निकासा गर्ने समय होइन’’, मन्त्रालयका सचिव अधिकारीले भन्नुभयो, ‘‘बजेट बनाउनुभन्दा अलि अगाडि नै चैततिर प्राविधिकहरूमार्फत् सबै विवरण खुलाएर पूर्वाधार विकास कार्यालयमा सम्पर्क गर्नुहोला । अहिले खासै केही गर्न सकिँदैन ।’’ उहाँले प्रदेश मन्त्रालयमा बेलैमा सम्पर्क राख्न पनि सुझाउनुभयो ।

उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँच नरहेको अवस्थामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्टलाई नै विकास मान्नुपर्ने अवस्था आएको अध्यक्ष लामाले बताउनुभयो ।

स्मरण रहोस् मनाङको नार्पाभूमिबाहेक नासोँ, चामे र मनाङ ङिस्याङ गाउँपालिका सडक सञ्जाल तथा विद्युतले छोएका छन् । यहाँ सन् २००३ देखि पर्यटकका लागि खुला गरिएको छ । चीनको नजिक पर्ने भएकाले खम्पाहरूले यहाँ आफ्नो कार्य क्षेत्र बनाएको पाइन्छ ।