• ३ माघ २०८१, बिहिबार

ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः प्रमुख घिमिरे

blog

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं, माघ ३ गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै प्रमुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनका लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्नुभयो ।

उहाँले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनका लागि गर्ने गरिने भए पनि अहिले कमी भएको जिकिर गर्नुभयो ।

ट्राफिक प्रहरी प्रमुख घिमिरले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागि रहेको बताउनुभयो ।

‘‘पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गर्‍यो भन्ने हुन्थ्यो । अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।,’’  उहाँले भन्नुभयो, ‘‘ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई पनि अनलाइन बनाउन लागिरहेका छौं । हाम्रो उद्देश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनका लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गर्नुभयो । उहाँले २१ लाख मोटरसाइकल मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजी सवारी साधनको मात्रा वृद्धि भएको बताउनुभयो ।

उहाँले सरकारले बिचौलियाहरुसँगको समन्वयमा सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाइदिने काम गरिरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाएर विद्युतीयलगायत निजी सवारी साधनलाई प्रोत्साहन गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले अन्तर्राष्ट्रिय मुलुकको जस्तो सार्वजनिक यातायात खोज्ने तर पूर्वाधार निर्माण नबनाइदिनु राज्यको कमजोरी भएको बताउनुभयो । यातायात क्षेत्रलाई सुधार गर्नका लागि सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था गरे मात्रै पनि पठाओ, इन्ड्राइभ सबै हराउने औंल्याउनुभयो ।

उहाँले सरकारले निजी सवारी साधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनलाई यातायात व्यवसाहीहरुले स्वागत गरे पनि राज्यले विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।