गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । समाजवादी मोर्चा नेपालले संसदीय समितिमा विचाराधीन अवस्थामा विधेयक भएको बेला अध्यादेश ल्याउनु ठिक नभएको निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यादेशको बाटोमा जानु गलत भएको बताउनुभयो । उहाँले विधेयक समितिमा भएको बेला त्यो फिर्ता भएपछि मात्रै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन सक्ने दाबी गर्नुभयो ।
समाजवादी मोर्चाका सदस्य एवं नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले माघ १६ गते समाजवादी मोर्चाका तर्फबाट वैचारिक प्रशिक्षिण कार्यक्रम हुने
जानकारी दिनुभयो ।
यसैबिच विपक्षी दलको सिंहदरबारमा बसेको बैठकमा सरकारले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउनेबारेमा छलफल भएको छ । बुधबार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले हिउँदे अधिवेशन विधेयक अधिवेशनसमेत भएकाले जनताका सबै सरोकार सुन्नका साथै बढ्दै गएको भ्रष्टाचार र महँगीबारे छलफल हुनुपर्ने उल्लेख गर्नुभयो ।