काठमाडौँ, माघ २ गते। समालोचक धीरकुमार श्रेष्ठका दुई समालोचनात्मक कृति सार्वजनिक भएका छन्।
श्रेष्ठका समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक भएका हुन्। कृति सार्वजनिक समारोहमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ।
प्रा. डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. देवी नेपाल र प्रा. अनुपमा रेग्मीले उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिले पुस्तक सार्वजनिक गर्नुभएको हो।
प्रा. अनुपमा रेग्मी र प्रा.डा. रामप्रसाद ज्ञवालीबाट ‘अध्ययन विश्लेषण’ एवम् प्रा.डा. कुमारप्रसाद कोइराला र प्रा.डा. देवी नेपालले ‘आख्यानको आँखीझ्याल’उपर विद्वत् चर्चा गर्नुभयो।
चर्चाका क्रममा श्रेष्ठका साहित्यिक योगदानका साथै समालोचनात्मक कृतिका सबल र दुर्बल पक्षका बारेमा प्रकाश पार्नुभयो। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दयाराम श्रेष्ठले कृतिको महत्त्व र समालोचनात्मक दृष्टिकोणमाथि प्रकाश पार्दै कमी कमजोरी औल्याउँनुभयो।