• २ असार २०८२, सोमबार

ग्वार्को ओभरपास अन्तिम चरणमा

blog

ग्वार्को ओभरपास । तस्बिर : मनोजरत्न शाही

ललितपुर, असार २ गते । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ  । लामो समयदेखि प्रतीक्षा गरिएको यस आयोजनाको मुख्य संरचनाको काम सकिएसँगै अहिले कालोपत्रे (अस्फाल्टिङ) र रङरोगनको कामलाई तीव्रता दिइएको छ ।

यो ओभरपास २०७८ फागुन १२ मा सुरू भएको सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने थियो । सम्झौताको म्याद २०८० फागुन १२ मा सकिए पनि काम पूरा नभएपछि पहिलो पटक २०८१ पुस ८ सम्म म्याद थप गरिएको थियो ।

तर, उक्त अवधिमा पनि निर्माण सम्पन्न नभएपछि सडक विभागले गत पुस १० देखि निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशत (करिब ८५ हजार रुपियाँ) हर्जाना तिराएर काम गराइरहेको छ । हर्जाना तिरेर २०० दिनसम्म काम गर्न पाइने व्यवस्था छ ।

 यो अवधिमा पनि काम नसकिएमा ठेक्का रद्द गर्ने चेतावनी सडक विभागले दिएको थियो । १७ करोड ६ लाख ८८ हजार रुपियाँ लागत अनुमान गरिएको यो ओभरपासले ग्वार्को चोकको चर्को ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ ।

ओभरपास बनेपछि कलङ्की–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।