काठमाडौँ, माघ २ गते। पर्साका पोखरीया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्रविरुद्ध साइबर अपराधको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा रहेका मिश्रले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको छ।
प्रतिवादी मिश्रले साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन भनी ९९ हजार रुपियाँ घुस दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको आयोगले जनाएको छ।
आयोगका अनुसार मिश्रविरुद्ध ९९ हजार रुपियाँ बिगो कायम गरी ऐन बमोजिम जफन हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।