• २ माघ २०८१, बुधबार

पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन

blog

मोदिगाउँपालिकास्थित देउपुरका कृषकहरु बिक्रीका लागि सुन्तला टिप्दै । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी
कुश्मा (पर्वत), माघ २ गते ।
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला पकेट क्षेत्रहरु बासखर्क र दक्षिणी भेगका पाङराङसहितका कुर्घा, लिमीठाना, भेडाबारी, थापाठाना, भंगरा साथै बाच्छासँगैका खोरियाखर्क, चण्डीस्थान, उपल्लो गाउँ, सिउरासलगायतका स्थानका सुन्तला बगानमा उत्पादन केही बढी हुने देखिएको छ । सुन्तला पकेट क्षेत्र देउपुरमा केही कम उत्पादन भए पनि अन्य सवै क्षेत्रको उत्पादनलाई जोडेर हेर्दा पर्वतबाट ३० करोड मूल्यभन्दा बढीको सुन्तला उत्पादन हुने देखिन्छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा १ बासखर्क भन्ने स्थान सुन्तला खेतीका लागि प्रसिद्ध छ । सुन्तलाको पकेट क्षेत्र मानिने बासखर्कमा मात्रै सुन्तलाको व्यावसायिक खेतीमा संलग्न कृषकको घरधुरी सङ्ख्या २५० रहेको छ । बासखर्कका सुन्तला कृषक ६० वर्षे जगत खत्रीले २८ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार पाँच सय ५२ वटा सुन्तलाबाट यस वर्ष मात्रै ४० लाख रुपियाँ आम्दानी गर्ने बताउनुभयो । बासखर्कमा सुन्तला फागुनतिर मात्रै टिप्ने गरिन्छ । बासखर्ककै अर्का कृषक हेम कुमार अर्मजाका अनुसार बासखर्कमा लगाइएको १६ सय रोपनीभन्दा बढी क्षेत्रफलमा उत्पादित सुन्तलाको बिक्रीबाट यहाँका कृषकहरुले करीव १३ करोडको आम्दानी गर्ने छन् । 

बासखर्कका कृषकहरुको प्रमुख आम्दानीको स्रोत मानिने सुन्तला खेतीलाई अझै व्यवस्थित र विस्तार गर्नका लागि गाउँसम्म पुग्ने कच्ची र साँगुरो बाटोलाई पक्की बनाउनु पर्ने भनाइ छ । पर्वतको बासखर्क आवतजावतका लागि अहिले पनि कृषकहरु बेनी बजारबाट पर्वतको बगरफाँट हुँदै कच्ची र साँगुरो बाटो जोखिम मोलेर हिँड्नु परेको छ । कृषकहरुले सुन्तला बजार पुर्याउन र प्राङगारिक मल ल्याउन समेत कच्ची बाटोकै कारण ढुवानी वापतको शुल्क महँगो तिर्नु परेको गुनासो गरेका छन् ।

पर्वतकै मोदीगाउँपालिका पर्ने सुन्तला पकेट क्षेत्र देउपुरमा यसपाली गत वर्षभन्दा केही कम उत्पादन भएको सुन्तला कृषक दाताराम चापागाईको भनाइ छ । केही कृषकको सुन्तला बगानमा फुल लाग्ने बेला परेको असीना र औसिया किराका कारण सुन्तला उत्पादनमा कमि भएको हो । अगुवा सुन्तला कृषक घनश्याम शर्माले सुन्तला उत्पादनमा असीनाको केही प्रभाव परे पनि देउपुर क्षेत्रबाट सुन्तलाको उत्पादन यस वर्ष कम्तिमा पनि ६ करोड मूल्यभन्दा कम नहुने दाबी गर्नुभयो । कृषक शर्माले यस वर्ष चार लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नु भएको छ भने सुन्तलाको वेर्ना मात्रै डेढ लाख मूल्य बराबरको विक्री गरेको बताउनुभयो । देउपुर १२ सय मिटरको उचाईमा पर्ने र पहारिलो क्षेत्र भएको हुँदा पनि सुन्तला खेतीका लागि उपयुक्त स्थान मानिन्छ ।

पर्वतको फलेवास नगरपालिकाको दक्षिणी भेगमा पर्ने पाङराङ र यस आसपासका सुन्तला पकेट क्षेत्रबाट सुन्तलाको उत्पादन ६ करोड मूल्य बराबरको हुन्छ भने विहादी गाउँपालिकामा पर्ने सुन्तला पकेट क्षेत्र मानिने बाच्छा र आसपासका क्षेत्रबाट गरी सुन्तलाको उत्पादन नौ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन हुने कृषकको अनुमान छ । सुन्तला पकेट क्षेत्र पाङराङका अगुवा कृषक पूर्णबहादुर कुँवरले ९८ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी वर्षको १८ लाख आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष एक सय ७० क्वीण्टल सुन्तला बिक्री गर्नुभएको बताउने कृषक कुँवरले यसपाली भने असीनाले बोटका फूल झारेको कारण उत्पादनमा केही कमी रहेको गुनासो गर्नुभयो । कृषक कुँवरका सुन्तला बगानमा सानाठुला गरी २२ सय सुन्तलाका बोट छन् ।

पाङराङका सुन्तला कृषक पवन कुँवरले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि १५ रोपनीबाट विस्तार गरी कोदो बाली लगाउने बारीमा समेत थप सुन्तला खेती विस्तार गरी ५५ रोपनी पुराउने सोच राख्नुभएको छ । कृषक कुँवर भन्नुहुन्छ, 'एक हलको कोदो लगाउने बारीमा सुन्तलाको बोट लगाउने हो भने तीन लाख रुपियाँ आम्दानी गर्न सकिन्छ । कोदो लगाएर त्यो रकम आउँदैन । कोदो लगाउनभन्दा सुन्तला खेती गर्न सजिलो पनि छ ।' कृषक कुँवर जस्तै गाउँले कृषकहरु साथै विदेशबाट फर्केका युवाहरु समेत सुन्तला खेतीमा आकर्षित भएका छन् । पर्वतका कृषकहरुले पोखरा, काठमाडौं, मुङलिग, नारायणघाटलगायतका सहरबाट आउने व्यापारीहरुलाई बगानबाटै सुन्तला बिक्री गर्दै आएका छन् ।