बाजुरा समाचारदाता
बाजुरा, माघ २ गते । माघ लागेसँगै बाजुरामा चेलीको चेलत्यार सुरु भएको छ । परम्परागत रूपमा छोरी र दिदीबहिनीलाई उपहारस्वरूप चेलत्यार दिने चलन अहिलेको पुस्ताले पनि निरन्तरता दिँदै आएका छन् । माघेसङ्क्रान्तिको दिनेदेखि ३० गतेसम्म यहाँका स्थानीयले सेलपुरी, वन तथा घरको तरुल मिठाई लगेर विवाहित चेलीलाई चेलत्यार दिने गर्छन् ।
कामको व्यस्तताले यदी माघमा चेलत्यार दिन सकिएन पछि एक जोर लुगाकपडासमेत दिने यहाँको प्रचलन छ । स्थानीयले माघ महिनाभरि घरमा रहेका दिदीबहिनी र छोरीलाई दान दक्षिण दिएर आफूले खाना खाने गर्छन् ।
माघमा आफ्नो बाबुबाजेदेखि छोरीलाई चेलत्यार दिने चलन भएकाले आफूले पनि त्यो चलन अपनाउँदै आएको बुढीगङ्गा नगरपालिका–२का जयाबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो महिनाभरि दिदीबहिनी तथा छोरीलाई चेलत्यार दिने गर्दछु । उनीहरूले पनि चेलतयारको आशा गरेर बसेका हुन्छन ।” यस वर्ष पनि उसिनेको तरुल, सेलपुरी छोरीको घरमा दिन जाने तयारी गरिरहेको थापाले बताउनुभयो । बाजुराका प्रत्येक स्थानीय तहमा यो चलन लोकप्रिय छ । यहाँको हिमाली, स्वामीकार्तिक जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तडछेडेदह गाउँपालिका विभिन्न ठाउँमा चेलत्यार दिने चलन चल्दै आएको छ । माघ सुरु भएपछि यहाँका महिला सुखी सँगै दुःखीसमेत हुने गर्छन् । घरमा माइती हुने चेलीहरू खुसी हुन्छन् भने नहुने दुःखी हुन्छन् । खप्तडछेडेदह गाउँपालिका–२ का वसन्ती रोकाया भन्नुहुन्छ, “पहिले आमाबुवा चेल तयार दिन आउनुहुन्थ्यो । अहिले दाजुभाइ आउने गरेका छन् । मेरा माइतीले मलाई अहिलेसम्म कुनै वर्षको माघमा पनि चेलत्यार दिन खाली गरेको छैन ।”