• २ माघ २०८१, बुधबार

कपुरकोटमा कृषि मिनी ल्याब स्थापना

blog

सल्यानको कपुरकोटमा स्थापना भएको कृषि मिनी ल्याब । तस्विरः प्रतीक इच्छुक शर्मा

प्रतीक शर्मा इच्छुक

सल्यान, माघ १ गते । सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनी ल्याब सञ्चालना ल्याएको हो । 

कृषि मिनी ल्याब स्थापना भएपछि किसानलाई आफ्नो खेतबारीको माटोअनुसारको खेती गर्न र रोग किराको पहिचान गर्न सजिलो हुनेछ । डिजिटल प्रविधिबाट माटो परीक्षण तथा रोग किराको पहिचानका लागि मिनी ल्याब सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।  

माटो परीक्षण र रोग किरा पहिचानका लागि जिल्ला बाहिर जानुपर्ने कृषकको बाध्यता हटेको छ । कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले माटोमा कुन पदार्थ कति छ, माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ, रोग किराको उपचार कसरी गर्ने भन्नेबारे कृषि मिनी ल्याबले किसानलाई जानकारी दिन सहज हुने बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण माटोको अवस्था बिग्रँदै गएको र नयाँ रोग तथा किराहरू देखा परेकाले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) को सहयोगमा कृषि मिनी ल्याब स्थापना गरिएको हो ।

कृषि मिनी ल्याबमा पालिकाभित्रका किसानले निःशुल्क तथा पालिकाबाहिरका किसानले शुल्क तिरेर आफ्नो खेतबारीको माटोको परीक्षण र रोग किराको पहिचान गरी उपचार विधि पत्ता लगाउन सक्नेछन् । कृषिउपज बजार सञ्चालक समिति अध्यक्ष तिलक शर्माले  ल्याबसँगै रोग किरा तथा किसानहरूको गुनासो सुनुवाइ गर्न कृषक परामर्श केन्द्रको समेत  सञ्चालनमा ल्याइएको वताउनुभयो ।