कपिलवस्तु, माघ १ गते । थारु समुदायले आफ्नो चाड तथा नयाँ वर्षको रूपमा माघी पर्व हर्षोल्लास सहित मनाएका छन् । कपिलवस्तु स्थित बुद्धभूमि नगरपालिका–४, बुड्ढीतालमा आयोजित नगरस्तरीय माघी (खिचडी) महोत्सवमा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा र नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका थिए । निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको थियो । उनीहरूले लेहेँगा, चोलिया, अङ्गिया, र धोतीजस्ता मौलिक पोसाकसहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा झुमरा नाच, मयूर नाच, लठ्ठहवा नाच (लाठी नाच), र मघौटा नाचजस्ता परम्परागत प्रस्तुतिले थारु समुदायको सांस्कृतिक धरोहरलाई जीवित देखाएको थियो ।
कपिलवस्तुको बुद्धभूमि, बाणगंगा, र शिवराज नगरपालिकामा हरेक वर्ष माघी पर्व विशेष महोत्सवसहित मनाउने परम्परा रहेको छ । सोमबारदेखि सञ्चालनमा रहेको बुद्धभूमि नगरस्तरीय माघी महोत्सवले थारु समुदायको पहिचान र एकता झल्काएको पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताउनु भयो ।