अमरराज नहर्की
तनहुँ, पुस २९ गते । तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महाउत्सव हुने भएको हो ।
कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा माघ १ गतेदेखि ३० गतेसम्म महाउत्सव चल्नेछ । चितवनको देवघाटस्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक ईश्वरकृष्णजी महाराजको सङ्कल्पमा महाउत्सव हुने भएको हो । देवघाटधाममा हुने देवघाट महा–महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
महा–महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिका संयोजक डा.केशवराज भुर्तेलले जानकारी दिनुुभयो । माघ १ गते विशेष कार्यक्रमको आयोजना गरिने महा महोत्सव तथा मकर मेला उद्घाटन गरिने उहाँले बताउनुभयो । माता–पिता सेवा आश्रममा ३६५ कोठा रहनेछन् ।
वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ । यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो ।
उक्त आश्रम निर्माणका लागि हालसम्म जमिन प्राप्तिलगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ। आश्रमसँगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पत्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताउनुभयो ।
मन्दिर र आश्रमको गरी कुल लागत करिब दुई अर्ब रुपियाँ खर्च लाग्ने जनाइएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको छ ।महा–महोत्सवको कार्यक्रम अन्तर्गत यही पुस २४ गते गणेश पूजन, भूमि शोधन र आदिवास पूजन, २५ गते श्री नृसिंह महायज्ञ र महासुदर्शन यज्ञ, पुस २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिसकिएको छ ।
माघ १ देखि ३० गतेसम्म वेणी सङ्गममा २४ सै घण्टा निरन्तर हरिनाम सङ्कीर्तनको व्यवस्था गरिनेछ । १०८ जनाद्वारा श्रीमद्भागवतको पाठ गरिनेछ । त्यस्तै एक लाख २५ हजार श्रीफलको हवन, एक लाख शिला पूजन र शिलान्याससमेत गरिनेछ ।