• २८ पुस २०८१, आइतबार

खाडलका कारण आवागमन असहज

blog

तम्घास समाचारदाता

तम्घास, पुस २८ गते । सदरमुकाम तम्घासकै सडकका बिचमा ठुलठुला खाडल हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । लामो समयदेखि सडकबिचमै ठुला खाडल हुँदा पनि मर्मतका लागि रेसुङ्गा नगरपालिका तथा सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।

रेसुङ्गा नगरपालिका–९ मा विद्युत्, नापी र मालपोत कार्यालय जाने सडकमा ठुलठुला खाडल हुँदा दुर्घटनाको जोखिम भएको नेपाल विद्युत् प्राधिकरण गुल्मीका लेखा प्रमुख विष्णु न्यौपानेले गुनासो गर्नुभयो । सडकमा खाल्डा भएकाले कार्यालय जाँदाआउँदा सवारी चलाउन र पैदलयात्री बचाउन समस्या हुने गरेको उहाँको भनाइ छ । खाडलबाट आफूसँगै सवारी पनि बचाउनुपर्ने र पैदलयात्री पनि बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुने गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम तम्घासकै सडकमा लामो समयदेखि रहेका खाडल मर्मत नहुनु दुःखद भएको यहाँका स्थानीयले बताएका छन् । नगरपालिकाले अन्यत्रका सडक मर्मत गर्ने र यस सडकमा बर्सौंदेखि कुनै चासो नदेखाउनुले आफूहरू बत्तीमुनिको अँध्यारो जस्तै भएको स्थानीय सुरेश मरासिनीले बताउनुभयो । विद्युत् चोकदेखि विद्युत् कार्यालयसम्मको सडकमा खाल्टैखाल्टा भएकाले मोटरसाइकल चलाउन पनि समस्या हुने र दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ । 

घरअगाडि खाल्डोमा हिलोसहितको पानी जम्मा हुने र सवारी आउँदाजाँदा उक्त जम्मा भएको पानी घरमा आउँदा थप समस्या झेल्नु परेको यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् । बच्चाबच्ची सडकमा निस्कँदा खाल्डोमा परेर थप दुर्घटना हुन सक्ने भएकाले थप समस्या भएको स्थानीयको भनाइ छ ।

रेसुङ्गा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले उक्त सडक मर्मत तथा कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उक्त सडकमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै समस्या समाधानका लागि वडा कार्यालय लागिपरेको उहाँको भनाइ छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उक्त सडकलाई थप चौडा बनाई नाली व्यवस्थापनका साथै कालोपत्रे गर्ने गरी टेन्डर भएको बताउनुभयो । सो सडकमा रहेका सामान्य खाल्टाखुल्टी पुर्ने काम गर्दै आए पनि दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने गरी नगरपालिका लागिपरेको पन्थीको भनाइ छ । यस आर्थिक वर्षभित्र उक्त सडक चौडा पारी नालीसहित कालोपत्रे भएर सडक चिटिक्क हुने उहाँको दाबी छ ।