• २८ पुस २०८१, आइतबार

सुप्रिम सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

blog

भैरहवा समाचारदाता

भैरहवा, पुस २८ गते । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । सुप्रिम सहकारी प्रकरणमा पूरक अनुसन्धान गरी प्रहरीले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी र अन्य १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । यसअघि पुराना २८ जनालाई समावेश गरी कुल ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइएको छ । दोस्रो चरणमा प्रतिवादी बनाइएकामा रवि र छविबाहेक छ जना इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले प्रतिवेदनको अध्ययन भइरहेको र उपयुक्त निर्णयका लागि छलफल भइरहेको जानकारी दिनुभयो । अनुसन्धान प्रतिवेदन अनुसार रवि लामिछानेको व्यक्तिगत रूपमा दुई करोड र गोर्खा मिडियाका नाममा सामूहिक रूपमा दुई करोड १५ लाख २८ हजार रुपियाँ गरी कुल चार करोड १५ लाख २८ हजार रुपियाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिवेदनमा छविलाल जोशी र अन्यको संलग्नताबारे पनि खुलाइएको छ । पूर्वडिआइजी जोशीमाथि व्यक्तिगत दुई करोड ५० लाख र मिडियाको नाममा सामूहिक रूपमा एक करोड ७७ लाख ८८ हजार गरी कुल चार करोड २७ लाख ७८ हजार रुपियाँ बिगो दाबी गरिएको छ । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङमाथि चार करोड ९६ लाख आठ हजार रुपियाँ बिगोको दाबी छ ।

यसअघि रवि लामिछाने गृहमन्त्री रहेका बेला वैशाख ३ गते अदालतमा दर्ता भएको मुद्दामा एक हजार ८३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ हिनामिना भएको आरोप लगाइएको थियो ।

लामिछाने कास्की अदालतबाट बिहीबार ६५ लाख रुपियाँ धरौटी बुझाएर छुट्नुभएको छ । पोखरामा उहाँमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । कास्की अदालतबाट धरौटीमा छाड्ने आदेशपछि प्रहरीले पहिले रुपन्देही वा काठमाडौँ कहाँ लैजाने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिसकेको थियो तर काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भनेपछि रुपन्देही ल्याउने विषय तत्कालका लागि रोकिएको छ ।