• २८ पुस २०८१, आइतबार

उपचार नपाएर मर्नुपर्ने बाध्यता अन्त्य गर्छौं : मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेल नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस २७ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताउनुभएको छ । दमौलीस्थित नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका युवा नेतासमेत रहनु भएको मन्त्री पौडेलले भन्नुभयो, ‘‘पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन, पैसा नभए उपचार गराउने जिम्मा सरकारले लिन्छ ।”

स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाइ थियो ।  बिरामीको जीवन रक्षाका मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताउनुभयो ।

स्वास्थ्य बीमालाई पाँच लाख पुर्‍याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘‘स्वास्थ्य बीमालाई पाँच लाख पुर्‍याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’

नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याउने तयारी भएको पौडेलले भन्नुभयो । जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्‍याउने उहाँको भनाइ थियो । स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताउनुभयो ।

नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो । नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिनुहुँदै उहाँले राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शून्य दशमलव पाँच प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताउनुभयो ।

सबै नागरिकको उपचारमा पहुँच पुर्‍याउन प्रभावकारी निर्णय भएको पौडेलले बताउनुभयो । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले केही समय लागेको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘बीमाको प्रतिवेदन आइसकेको छ कार्यान्वयन लैजानको लागि तयारी गरिरहेका छौं ।’’ प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्नुहुँदै पाँच लाखको बीमाको व्यवस्था हुने पौडेलले दाबी गर्नुभयो ।

छिरलिएको स्वास्थ्यको पैसा बीमा कोषमा लैजाने उहाँले बताउनुभयो । १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिनुहुँदै सरकार स्वास्थ्य प्रति गम्भीर रहेको बताउनुभयो । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताउनुभयो ।