मीना कंडेल
कावासोती, पुस २७ गते । नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपंक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भए पनि नवलपुरमा भने आजबाट गणना गर्न लागिएको हो ।
ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीहरूको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपंक्षी गणना गरिने पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपंक्षी गणना संयोजक डिबी चौधरीले बताउनुभयो । पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने संयोजक चौधरीले बताउनुभयो ।
नवलपुरको शिख्रौली गोलाघाट हुदैँ अमलटारी, शिख्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिने चौधरीको भनाइ छ । शिख्रौलीदेखि पिठौलीसम्म नारायाणीको उत्तरी भङ्गालोमा पानीको कम भएकाले हिँडेर गणना गरिने उहाँले बताउनु भयो । नारायणीको दक्षिणी भङ्गालोको शिख्रौली देखि अमलटारीसम्म र अमलटारी देखि त्रिवेणीसम्म डुङ्गाको प्रयोग गरिने छ ।
आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराई गरी चराहरू यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो । यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको उहाँको भनाइ छ । विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरि आउने गरेका छन् । नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । नारायणी नदीमा रैथाने, साइबेरिया, चिन, बर्मा, मंगोलिया, रुस ,कोरिया, थाइल्यान्ड, लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताउनुभयो ।
प्राकृति कारणसँगै मानवीय क्रियाकलापले गर्दा चराको सङ्ख्यामा कमि हुँदै गएको छ । सन २०२३ मा पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, त्यस्तै गत वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । गत वर्ष नयाँ छ प्रजातिको चरा देखिएको संयोजक चौधरीले जानकारी दिनु भयो।
सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो , हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए । नेपालमा पाइने कुल चरा मध्य दुई सयभन्दा बढी प्रजातीका चरा पानीमा आश्रीत रहेको छ । यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् ।
जाडोमा आउने आगन्तुक चरा नदी छेउछाउ, सिमसारमा बस्ने गर्दछ । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ ।