जाडोयाममा बालबालिकामा चिसोका कारण विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जान्छ । ठुला मानिसलाई भन्दा बालबालिकालाई चिसोबाट बढी जोखिम हुन्छ । बालबालिकाको शरीरबाट छिटो गर्मी हट्ने भएकाले उनीहरूलाई चिसोले बढी च्याप्छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी विच्छाले जाडोयाममा बालबालिकालाई चिसोबाट जोगाउन सकिएमा अन्य मौसममा त्यति स्वास्थ्य समस्या नपर्ने बताउनुभयो । चिसो मौसममा अबेरसम्म घरबाहिर रमाइलो गर्ने वा खेल्ने र न्यानो लुगा लगाएका हुँदैनन् भने शरीरमा चिसो पस्ने सम्भावना बढी हुन्छ ।
डा. विच्छाले न्यानो, सुक्खा, सास फेर्न मिल्ने कपडा नलगाएर लामो समयसम्म चिसोको सम्पर्कमा आएका बालबालिकामा ज्यान जोखिममा पार्ने हाइपरथर्मिया हुन सक्नेप्रति सचेत गराउनुभयो । हाइपरथर्मिया हुने जोखिम एक वर्षमुनिका बच्चामा बढी भए पनि त्यस उमेरभन्दा माथिका बालबालिकालाई पनि हुन सक्छ । हाइपरथर्मिया भनेको तापक्रमका कारण हुने स्वास्थ्य समस्या हो । शरीरको तापक्रम ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भएपछि हाइपरथर्मिया हुन्छ । हाइपरथर्मियाका कारण हृदयाघात, मिर्गौला तथा कलेजोमा समस्याका साथै मानिसको मृत्युसमेत हुन सक्छ ।
जाडोमा सकभर तीन/चार तह हुने गरी लुगा लगाउनु पर्छ । यसले गर्दा शरीरको गर्मी शरीरमा नै रहन पाउँछ र शरीरभित्र चिसो पस्न पाउँदैन । सकेसम्म भित्री लुगा (गन्जी, कट्टु आदि) सुतीको हुनु पर्छ । सुतीले पसिना सोस्छ र छालामा नकारात्मक असर गर्दैन । भित्री लुगा नाइलन, पोलिस्टरको हुनु हुँदैन ।
शरीरलाई न्यानो बनाउने भन्दैमा धेरै उनी लुगा लगाउनु पनि त्यति राम्रो हुँदैन । धेरै चिसो भयो भन्दैमा भएभरका लुगा लगाउनु पनि हुँदैन । आवश्यकताभन्दा बढी मात्रामा न्यानो लुगा लगाएमा पसिना आएर चिसो लाग्ने सम्भावना हुन्छ । छातीमा पसिनाले गर्दा चिसो रहिरहेमा निमोनिया जस्ता समस्या देखिन सक्छ ।
“बालबालिकालाई पैताला र टाउकोबाट जाडोको प्रभाव बढी पर्छ । त्यसैले उनीहरूलाई टाउकोमा राम्रो टोपी र खुट्टामा मोजा लगाइदिनु पर्छ,” बालरोग विशेषज्ञ डा. विच्छाले भन्नुभयो ।
जाडोयाममा बालबालिकामा निमोनियाको समस्या पनि उत्तिकै रहन्छ । उच्चखोकी, ज्वरो वृद्धि, सास फेर्न गाह्रो भए तुरन्त चिकित्सककहाँ लैजानु पर्छ । कहिलेकाहीँ रुघाखोकी गम्भीर रोगको लक्षणसमेत हुन सक्छ । रुघा खोकी लाग्दा सास फेर्न गाह्रो भए वा छिटोछिटो सास फेर्ने समस्या देखिए निमोनिया हुन सक्छ । यो फोक्सोको सङ्क्रमण हो । यो प्राण घातक रोग हो । त्यसैले यस्ता समस्या देखिए तुरन्त स्वास्थ्य केन्द्रमा उपचार गराउनु पर्छ ।
जाडोयाममा आगो ताप्दा शरीर न्यानो हुने भए पनि सही तरिकाले तापिएन भने ज्यान जोखिममा पर्ने गर्छ । कोठामा हिटर, मकल वा आगो ताप्ने अन्य उपाय गरिएको छ भने हावा ओहोरदोहोर हुने राम्रो व्यवस्था हुनु पर्छ । सबै झ्याल, ढोका लगाएर कोठा तताउनु हुन्न । धुवाँ बाहिर निस्किन नसक्ने गरी कोठा थुन्दा निस्सासिएर मृत्यु हुने गरेका घटना जाडोमा सुन्दै आएका पनि छौँ । बाथरुममा ग्यास गिजरले पानी तताउने व्यवस्था छ भने त्यहाँ पनि हावा ओहोरदोहोर हुने राम्रो व्यवस्था हुनु पर्छ ।