• २५ पुस २०८१, बिहिबार

पुल नबन्दा सडक सम्पर्कविहीन

blog

कर्णाली नदीमा पुल नहुँदा जेसिबीको सहायताले ट्याक्टर तारिँदै । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, पुस २५ गते  । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह कर्णाली नदीका कारण राष्ट्रिय राजमार्गसँग जोडिन सकेका छैनन् । जिल्लामा दुईतर्फी दुई नदी कर्णाली र तिला बग्ने भएकाले यहाँका चार वटा स्थानीय तह राष्ट्रिय सडकसँग जोडिन नसकेका हुन् । 

पलाँता गाउँपालिका पूरै कर्णालीपारि हुँदा यहाँका नागरिकले गाउँदेखि सिधै सुर्खेतको यात्रा गर्न पाएका छैनन् भने यस्तै समस्या महाबै गाउँपालिकालाई पनि छ । महाबै गाउँपालिकामा बसोबास गर्ने सबै नागरिक झोलुङ्गे पुलको यात्रा गरेर कर्णाली राजमार्ग पुग्नु पर्छ । तिलागुफा नगरपालिकाभित्रका तीन वडा र पचालझरना गाउँपालिकाभित्रका पाँच वटा वडा राष्ट्रिय राजमार्गको पहँुचभन्दा बाहिर छन् । महाबै गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्न पुलको ठेक्का भएको अहिले चार वर्ष पूरा हुँदा पनि अझै काम सुरु भएको छैन । त्यसपछि यहाँ बेलिब्रिज पुल जडान गरिएको छ । 

पुल जडान भए पनि कडा चट्टान भएकाले सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ । उता तिलागुफा नगरपालिका–९, १० र ११ का नागरिकलाई सडक सञ्जालसँग जोड्न भैँसीगौँडामा पक्की पुल निर्माण गरिएको थियो तर २०७९ असोजमा आएको बाढीले पुल सञ्चालनमा नआउँदै बगायो । त्यसयता नगरपालिकाभित्रका तीन वडाका नागरिक निराश छन् । वडा नम्बर १० का वडाध्यक्ष मनबहादुर थापाले १० वर्षको प्रतीक्षापछि पुल निर्माण अन्तिम चरणमा रहेका बेला बाढीले बगाउँदा सडक यात्राको प्रतीक्षा गरिरहेका नागरिक निराश भएको बताउनुभयो । साबिकको चिल्खाया गाउँ विकास समिति तिला नदीभन्दा पारि छ । त्यहाँ जान तिला नदीमा बनेको झोलुङ्गे पुल तर्नु पर्छ ।

जिल्लाको पलाँता गाउँपालिका पूरै र पचालझरना गाउँपालिकाभित्रका पाँच वडाका नागरिकलाई कर्णाली कोरिडोरसँग जोड्न चार वर्षअगाडि ठेक्का भयो । पचालझरना–५ को जाजरकोटमा पक्की पुल शिलान्यास हुँदा यहाँका नागरिक निकै खुसी थिए । पुल बन्ने भनेर शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि पुल निर्माणको प्रगति निराशाजनक भएकाले नागरिक निराश छन् । वडा नं. ४ का महेन्द्रा कठायतले २०७७ सालमा ठेक्का सम्झौता भएको तर पुल निर्माणको काम कत्ति नभएको गुनासो गर्नुभयो । 

पूर्वाधार विकास कार्यालय कालीकोटमार्फत जाजरकोटमा पक्की पुल निर्माणका लागि १३ करोड रुपियाँको लागत प्रतिवेदन तयार भएर श्रीहिराचन क्याराभान सुपरस्टार जेभीले सम्झौता गरेको थियो तर काम नभएको स्थानीयको गुनासो छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर लक्ष्मणकुमार पाण्डेले सम्झौतामा जारकोटको पक्की पुल २०७९ सालमा बनिसक्ने उल्लेख भए पनि काम भने २५ प्रतिशत मात्र भएको बताउनुभयो ।  निर्माण कम्पनीले एक करोड १६ लाख पेस्की लिएर काम अलपत्र पारेको पाण्डेको भनाइ छ । निर्माण मिति सकिएकाले कम्पनीले आगामी चैतमा काम सक्ने भनेर म्याद थपेको भए पनि काम सक्ने सम्भावना नभएको सुनाउनुभयो ।