• २५ पुस २०८१, बिहिबार

शीतलहरले बाँके र बर्दियाको जनजीवन प्रभावित

blog

हुस्सु र शीतलहरले बाँकेको अहिलेको अवस्था । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २४ गते ।
पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँके र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ ।

बाक्लो हुस्सु र शीतलहरले बाँके र बर्दियाका सबै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् झन् बढ्दै गएको छ ।

चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ । यसले गर्दा बजार, कार्यालय र विद्यालयमा मानिसहरुको उपस्थिति न्यून बनेको छ । सोही कारणले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजार तथा बर्दियाको गुलरिया, राजापुर, बाँसगढी र भुरीगाउँलगायतका स्थानमा चहलपहल घट्दै गएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीका अनुसार हाल चिसोले गर्दा न्यानो कपडाको बिक्री बढेको भए पनि अन्य व्यापार व्यवसायमा निकै मन्दी छाएको बताउनुभयो ।

उहाँले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको पनि बताउनुभयो ।

चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई चिसोबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा चिसोले बिरामी परेकाहरु आउने क्रम बढेको पनि बताउनुभयो । 

उता शीतलहर र हुस्सुकै कारण नेपालगन्जबाट सङ्घीय राजधानी काठमाडौंलगायत पहाडी र हिमाली जिल्लामा हुँदै आएका हवाई उडान पनि प्रभावित र अनियमित भएका छन् ।

केही दिनयता विशेष गरि बिहानको समयमा हुने हवाई उडानहरु अनियमित भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।