सलिम मियाँ
बिजुवार (प्युठान), पुस २४ गते । ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनीहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।
देश विदेशका ८३ जना सहयोगी दाताबाट एक लाख २० हजार ४२६ रूपियाँ रकम सङ्कलन भएको र त्यसबाट न्यानो कपडा खरिद गरेर दुई सय ५५ जना विद्यार्थीलाई प्रतिव्यक्ति एक–एक थान स्वीटर, टोपी र टाउजर दिइएको अभियानका अगुवा अनुपराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार एकदेखि कक्षा पाँचसम्मका आभिभावकविहीन, अपाङ्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गाउँपालिका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डे, ऐरावती– २ का वडा अध्यक्ष भीमेशकुमार घर्ती मगर, मोती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठसहितको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको बताउनुभयो ।