कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस २४ गते । बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको प्रहरीप्रमुख पण्डितले बताउनुभयो ।
‘‘हेर्दा नवजात शिशु पूरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएको शिशुलाई पाँच–सात दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।,’’ उहाले भन्नुभयो ।
फोहोरको डम्पिङ्ग साइटमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।