गोकर्ण पौडेल
तुलसीपुर, पुस २३ गते । दाङ जिल्लामा कुष्ठरोग प्रभावितहरुको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग उन्मूलनका रुपमा घोषणा गरेको हो ।
घोषणा गरेको करिब १४ वर्षपछि नेपालका १६ जिल्लामा सङ्ख्या बढ्दोक्रममा रहेको छ । मधेश र लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रभावितहरुको सङ्ख्या बढ्दो क्रममा छ ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार यसै वर्ष ७ जना नयाँ कुष्ठ रोगका बिरामी भेटिएका छन् भने उपचारमा २३ जना बिरामी रहेको बताउनुभयो । दश पालिकामध्ये घोराहीमा ८ जना,तुलसीपुरमा ४, लमहीमा ३, गढवामा दुई, राप्ती गाउँपालिकामा तीन, शान्तिनगरमा एक जना, राजपुर गाँउपालिकामा एक जना उपचाररत रहेका छन् । जिल्लाका दश वटा स्थानीय तह मध्य ६ वटा पालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छैनन् ।
घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छन् । बाँकी बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिकामा कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छैनन् ।
तीन वर्षको तथ्याङ्कको आधारमा संक्रमितको सङ्ख्या बढ्दो देखिएको हो । आर्थिक वर्ष २०७८-०७९ मा २१ जना, आर्थिक वर्ष २०७९÷०८० मा ३६ जना, आर्थिक वर्ष २०८०-०८१ मा २६ जना बिरामी थिए । चालु आर्थिक वर्ष २०८१-०८२ को मङ्सिर महिनासम्म २३ जना बिरामी उपचारमा रहेको जानकारी गराइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले दश हजारमा एक प्रतिशत भन्दा मुनि रहेको अवस्थामा कुनै पनि रोगको उन्मूलन घोषणा योग्य मान्दै आएको छ । नेपालमा सन् २०१० मा कृष्ठरोग प्रभावितको सङ्ख्या ०.७३ प्रतिशत थियो ।