गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । एक महत्त्वाकाङ्क्षी र सीमाभन्दा पर गएर गरिएको शारीरिक नाट्य प्रस्तुति हो नाटक ‘दी स्ट्रङ्गर’ । नाटकले सत्ता–शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाको अवधारणामाथि प्रश्न गर्छ । ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकामाथि प्रश्न गर्दै समाजले परिभाषित गरेका सत्ता–शक्ति सौन्दर्य र प्रभावमाथि आलोचनात्मक मत राखेको छ नाटकले ।
नाटक दुई पात्रको प्रतिकात्मकता वरिपरि बनेको छ, जसमा एकले शरीरको प्रतिनिधित्व गर्दछ (रातो लुगामा) र अर्कोले आत्माको प्रतिनिधित्व गर्दछ (सेतो लुगामा) । यी दुई पात्रबिच उत्पन्न तनावलाई नै केन्द्रीय द्वन्द्वका रूपमा प्रस्तुत गरिएको छ । जसमार्फत संसारलाई हेर्ने महिलाको दृष्टिकोणलाई उजागर गरिएको छ । नाटकले लैङ्गिक मुद्दाको सवालमा भइरहेका गतिविधि र तिनमा हुनुपर्ने थप कामबारे ठोस रूपमा ध्यानाकर्षण गराएको छ ।
नाटकमा प्रयुक्त शारीरिक प्रस्तुतिमार्फत कथा भन्ने क्रममा कलाकारले व्यक्तिको व्यक्तिगत र सामाजिक भूमिका उजागर गर्नका लागि आफ्नो शरीरलाई एउटा स्वच्छन्द माध्यम बनाएको छ । संवादको कम प्रयोग र शारीरिक गतिविधिलाई वैश्विक सम्पर्क भाषाको माध्यम बनाइएकाले सांस्कृतिक र भाषिक मतभिन्नता नरहने गरेर नाटक निर्माण गरिएको छ । नाटकमा कलाकारको चाल, हाउभाउ र विभिन्न नाट्यसामग्रीमार्फत जटिलभन्दा जटिल विषयवस्तुलाई पनि सहजतापूर्वक प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
नाटक एक स्विडिस नाटक हो, जसलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेख्नुभएको हो । जेनी सुनुवारको परिकल्पना, निर्माण र निर्देशनमा बनेको नाटकमा निर्देशक जेनीसँगै सरगम राई, सञ्जीव राई र बालाहाङ राईको अभिनय रहेको छ ।